INSEC Online

📅 २०८३ जेष्ठ २१

एम्बुलेन्स सेवा नहुँदा स्थानीयलाई सास्ती

जिल्लाका आलिताल , भागेश्वर र गन्यापधुरा गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा यस क्षेत्रका स्थानीयहरूले सास्ती व्यहोर्नु परेको छ ।

एम्बुलेन्स सेवा नहुँदा गम्भीर प्रकृतिका , असक्त,बृद्वा तथा घाइते बिरमीहरूलाई तत्काल अस्पताल तथा स्वास्थ्य संस्था लैजान समस्या हुने गरेको  स्थानीयहरूको गुनासो रहेको छ ।

जिल्ला सदरमुकामस्थित अस्पताल पुग्न दिन भरीसम्म लाग्ने भएकोले स्थानीय सरकारसँग एम्बुलेन्सको माग गरिएको भए पनि हालसम्म कुनै सुनवाइ नभएको आलिताल गाउँपालिकाका स्थानीय शंकर जोशीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो – ‘गाउँपालिका क्षेत्र भित्र सडक विस्तार भइसकेको छ । तर, गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था नगरिदिएका कारण बिरामीलाई समयैमा अस्पताल पुर्‍याउन समस्या भएको छ ।’

स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा असक्त बिरामी तथा दुर्घटनामा परेका व्यक्तिहरूलाई समय मै अस्पताल पु‍‍‍‍र्र्‍याउन नसकिदा अकाल मै ज्यान गुमाउनु परेको भागेश्वर गाउँपालिकाका स्थानीय हरीश ठकुराठीले गुनासो गर्नु भयो ।

एम्बुलेन्स खरिद गर्नका लागि कार्यपालिकाबाट निर्णय गरिसकिएकोले केही महिना भित्रै एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरूङले बताउनु भयो ।

डडेल्धुरा अस्पताल, अजयमेरू गाउँपालिका र परशुराम नगरपालिकामा रहेका एम्बुलेन्सहरू मात्रै सञ्चालनमा रहेकाले सडक सञ्जालसँग जोडिएका सबै स्थानीय तहमा एम्बुलेन्स सेवा दिन समस्या रहेको डडेल्धुरा अस्पतालका मेसु जगदिश बिष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो – “बिरामी तथा घाइतेहरूलाई स्टेचरमा बोकर अस्पताल पुर्‍याउनु पर्ने बाध्यता छ ।”

भागेश्वर गाउँपालिकाका सबै स्थानहरूमा सडक सञ्जाल विस्तार भइनसकेको र सबै क्षेत्रमा सडक सञ्जाल विस्तार गरी एम्बुलेन्स खरिद गर्ने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताउनु भयो ।

गन्यापधुरा गाउँपालिकामा पनि एम्बुलेन्स सेवा नहुँदा बिरामीहरूलाई सुविधासम्पन्न अस्पताल लैजान समस्या भएकोले गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग एम्बुलेन्स खरिद गर्नका लागि आग्रह गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नबल मल्लले बताउनु भयो ।

 

 

 

अन्य

भिडियो