स्थानीय तहमा जनप्रतिनिधिहरू चुनिएर आएपनि महोत्तरीका स्थानीय तह मातहत रहेका बर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको अभावका कारण सेवाग्राहीहरू मार्कामा परेका छन् । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा रहेको बर्थिङ्ग सेन्टरमा एक जना अनमिको भरमा सञ्चालन भइरहेको छ ।
आवश्यक उपकरणको अभाव र एक जना अनमिको भरमा २४ सै घण्टा एकडारा गाउँपालिकामा रहेको बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ । स्वास्थ्य जस्तो अति संवेदनशील संस्थामा औषधीको अभाव र बर्थिङ्ग सेन्टरमा उपकरणहरू काम लाग्ने अवस्थामा नभएपछि सुत्केरी गराउन आउने महिलाहरू नीजि क्लिनिकममा धाउनु पर्ने बाध्यता रहेको छ ।
अनमी बबिता कुमारी मण्डलले भन्नु भयो,–‘एकडारा गाउँपालिकाको बर्थिङ्ग सेन्टरमा न त कर्मचारी छन् नत उपकरण नै, जसका कारण सेवा लिन आउने महिलाहरू बाध्य भएर नीजि क्लिनीकमा जानुपर्ने बाध्यता रहेको छ ।’
एकडारा स्वास्थय चौकीका इन्चार्ज शिव सुन्दर ठाकुरले बर्थिङ्ग सेन्टरमा महिनाको करीब ३० देखि ५० जनासम्म प्रसुती गराउन आउने गरेको बताउनु भयो । उहाँले प्रसुती गराउन आवश्यक पर्ने औषधी, ग्लोब्स (पञ्जा) र डिलेवरीको लागि आवश्यक अन्य सामग्रीहरू सुत्केरी गराउन आउने गर्भवतीहरू आफैले किनेर ल्याउने बाध्यता रहेको बताउनु भयो । उहाँले सुत्केरी गराउन प्रयोग हुने डिलेवरी वेड पनी भाँचिएको र सेन्टरमा एक जाना मात्र कर्मचारी २४ सै घण्टा सेवा दिइरहेकाले सुरक्षित रुपले बच्चा जन्माउने गर्भवती महिला र बच्चा दुबेैको ज्यान जोखिममा रहेको जानकारी दिनु भयो ।
एकडारा गाउँपालिकाले एक वर्ष पहिला चार जना कर्मचारीलाई बर्थिङ्ग सेन्टरमा करारमा राखेपनि उनिहरूलाई काम गराएर तलब नदिँदा उनिहरू अहिले काम छोडेको बर्थिङ्ग सेन्टरमा करारमा काम गर्नु भएको पूर्व कर्मचारी रुपा झाले बताउनु भयो । झाले पनि बर्थिङ्ग सेन्टरको अवस्था अस्त व्यस्त रहेको बताउनु भयो ।
एकडारा गाउँपालिका अध्यक्ष रामछबिला साहले कर्मचारीको अभावमा सेवाग्राहीलाई मार्का परेको स्वीकार गर्दै कर्मचारीको बन्दोबस्तको लागि पहल भइरहेको बताउनु भयो ।