इन्सेकद्वारा सञ्चालित मानव अधिकार संरक्षण तथा प्रवद्र्धन परियोजना अन्तर्गत न्यायिक प्रकृयामा जानका लागि हिंसा पीडित तीन जना महिलालाई इन्सेकले सहयोग गरेको छ ।
घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा–१३ की ३४ वर्षीया सीता आचार्य र भेरीगंगा नपा–१० की २५ वर्षीया टीका वलीलाई कानुनी सहयोगका लागि इन्सेकले फागुन २९ गते प्रतिव्यक्ति १५ हजार रुपियाँ नगद सहयोग प्रदान गरेको हो ।
इन्सेकद्धारा गठित हिंसा निगरानी समूहमा पर्न आएका हिंसा पीडितहरूको निवेदन उपर आवश्यक अध्ययनपछि समूहले गरेको सिफारिसका आधारमा हिंसा पीडित आचार्य र वलीलाई सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले बताउनु भयो ।
हिंसा पीडितलाई नगद रकम हस्तानान्तरण गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले पीडितको न्यायप्राप्तीको अभियानमा अघि बढनका लागि इन्सेकले आर्थिक तथा कानुनी सहयोग उपलब्ध गराएको बताउनु भयो ।
साथै संयोजक सुवेदीले इन्सेकले हिंसा पीडितको अधिकार स्थापित गर्न सहयोग पु¥याउने उद्देश्यले उनीहरूलाई सहयोग प्रदान गरेको बताउनु भयो ।
यसैगरी सोही कार्यक्रम अन्र्तगत इन्सेकले यस अघि बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–६ घरभई सुर्खेतको वीरेन्द्रनगर नपामा बस्दै आएकी १४ वर्षीया शान्ति बिकलाई पनि सहयोग गरेको थियो ।
घरेलु मजदुरका रुपमा वीरेन्द्रनगर नपामा एक वर्षसम्म काम गरेवापत पाउनुपर्ने ज्याला नपाएको र घरमालिकबाट कुटपिट तथा हिंसामा परेपछि उनी साहारा विहीन भएकी थिइन । अभिभावक नभएकी ती बालिकालाई हिंसा निगरानी समूहको पहलमा वीरेन्द्रनगर नपास्थित गोमान सिंह बस्यालको घरमा बस्दै आएकी छन् ।
पीडितको पक्षमा कानुनी पहल गर्नका लागि हिंसा निगरानी समूहका अध्यक्ष अधिवक्ता गीता कोइरालालाई जिम्मा दिइएको इन्सेकका संयोजक सुवेदीले बताउनु भयो ।
अधिवक्ता गीता कोइरालाका अनुसार हिंसा पीडित टीका वलीका पक्षमा फागुन ३० गते जिल्ला अदालतमा प्रतिउत्तर लगाउने तयारी भइरहेको छ भने अन्य पीडितका हकमा न्यायिक निकायमा जाने आवश्यक तयारी भइरहेको बताउनु भयो ।
