घरेलु हिंसा पीडित सिमकोट गाउँपलिका–३ की २२ वर्षीया निशा (कुजुम) लामाले इन्सेकको पहलमा फागुन २७ गते सिमकोट गाउँपालिकामा उजुरी दिनु भएको छ ।
२४ वर्षीय पति ताराबहादुर लामाले ०७६ साउनदेखि वास्ता नगरेको, सासुले घरमा बस्ने अधिकार छैन भनेको र छोरीको जन्म दर्ता गराउन पतिले असहयोग गरेको भन्दै पीडितले आवश्यक पहलका लागि इन्सेक जिल्ला प्रतिनिधिलाई फागुन २६ गते अनुरोध गर्नु भएको थियो ।
छोरी जन्मेको आठ महिना भएको र छोरीको जन्म दर्ता गराउन पतिले असहयोग गरेको पीडितले गुनासो गर्नु भयो ।
बेला बेलामा फोनबाट छोरीको जन्म दर्ताका लागि आग्रह गरेपनि आठ महिना बितिसक्दा समेत छोरीको जन्म दर्ता गर्न नमानेको पीडित लामाले जनाउनु भयो । उहाँले थप्नु भयो जन्म दर्ताको कार्ड बनाउ भन्दा आफ्नो नागरिता छैन भनेर पतिले आलटाल गर्ने गरेको पीडितले आरोप लगाउनु भयो ।
ताराबहादुर हाल काठमाण्डौमा बस्दै आएको पीडितले जानकारी दिनु भयो । आफूले फोन गरेपनि मोवाइल नम्वर ब्लकमा राखिएको पीडितले जानकारी दिनु भएको छ । अरुको फोनबाट कुरा गर्न खोज्दा आवाज सुन्दा बित्तिकै फोन काटनु हुन्छ निशाले गुनासो गर्नु भयो ।
समस्या बढदै गएपछि निशाले न्यायका लागि ३ नम्बर वडा कार्यालयमा फागुन २० गते उजुरी दिएपनि उजुरीको सुनुवाइ नभएपछि फागुन २६ गते इन्सेक जिल्ला प्रतिनिधिसमक्ष आवश्यक सहयोगका लागि अनुरोध गर्नु भएको थियो ।
पीडितले अनुरोध गरेपछि इन्सेक जिल्ला प्रतिनिधिको आवश्यक पहलमा पीडितले सिमकोट गाउँपालिकामा फागुन २७ गते उजुरी दिनु भएको हो ।
घटनाका विषयमा इन्सेकले सिमकोट गाउँपालिका न्यायिक समितिका संयोजक वलि रावत र वडा नम्वर ३ का ताक्ला जिक्मेत लामासँग सम्पर्क गरी यस विषयमा पहल गर्नुपर्ने बताएपछि तत्काल सोही कार्यालयबाट संयोजक वलि रावतले ताराबहादुर लामालाई फोन गरेर तपाइको नाममा उजुरी परेको छ तुरुन्तै हुम्ला आउन आग्रह गर्नु भयो ।
लामाले आफू काठमाण्डौँमा बस्दै आएको र पत्नीलाई घरमा आमासँग मिलेर बस्न न्यायिक समितिका संयोजक रावतसँग भनेका थिए । उता निशा भन्छिन आफूलाई सासु आमाले तलाई मेरो घरमा बस्ने अधिकार छैन, यदि त घरमा प्रवेश गरिस् भने हामीलाई देवी देवता लाग्छन, तँ मेरो छोरासँग विवाह हुनु अघि अर्कैसँग विवाह गर्ने बाचा खाएको हो भन्ने आरोप लगाएपछि आफूलाई घरमा प्रवेश गर्न नदिएको गुनासो गर्नु हुन्छ ।
इन्सेकले न्याय दिलाउन पहल गरेपछि न्यायिक समितिका संयोजक रावतले भन्नु भयो ताराबहादुरलाई घरमा झिकाएर दुबै जनाको मिलापत्र गर्ने आश्वासन दिनु हुन्छ । उहाँका अनुसार लामालाई काठमाण्डौँबाट झिकाउनका लागि गाउँपालिकाले भरपुर प्रयास गर्ने छ ।
सोही ठाउँस्थित माइतमा बस्दै आएकी पीडित हाल महिला तथा बालबालिका संरक्षण केन्द्रमा बस्दै आउनु भएको छ ।
