INSEC Online

📅 २०८३ जेष्ठ २१

कृषि प्राविधिकको अभावमा किसानलाई समस्या

जुगल गाउँपालिका ७ की कृषक सावित्री घिमिरेले लगाएको तरकारी बालीमा डढेलो रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन कृषि प्राविधिक पाउनु भएन ।

समयमा नै प्राविधिक सल्लाह नपाएपछि उहाँले बारीमा लगाएको काउली रोगले डढ्यो । ‘समयमा नै प्राविधिक सल्लाह लिएर उपचार गर्न पाएको भए तरकारीमा लागेको रोग निको हुन्थ्योहोला तर, प्राविधिक नपाउदा यस वर्षको मेहनत त्यसै खेर गयो’ घिमिरेले भन्नुभयो ।

सोही गाउँपालिका ४ का रुद्रप्रसाद अधिकारीको पनि गुनासो त्यस्तै छ । माटो अनुसारको बालि लगाउदा होस् वा लगाएको बालिमा किरा लाग्दा होस् के गर्ने भनेर प्राविधिकको सल्लाह पाइदैन’ कृषक साबित्री घिमिरेले गुनासो गर्नुभयो ।

भौगोलिक रुपले जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका रहेको जुगल गाउपालिकाले “एक गाउ एक कृषि प्राविधिक” कार्यक्रम सञ्चालन गरिरहेको भनेपनि पर्याप्त कृषि प्राविधिक नहुदा कृषकहरूले प्राविधिक सेवा पाउन सकेका छैनन् ।

सात ओटा वडा रहेको सो गाउँपालिकामा तीनजना मात्र कृषि प्राविधिकहरू रहेको गाउँपालिकाको कृषि शाखा प्रमुख लालबाहादुर बयकले बताउनुभयो । तीनजना पनि कार्यक्रम अवधिभरका लागी करारका कर्मचारी हुन् । तीनजना प्रविधिक मध्यपनि एकजनाले गाउँपालिकाको कृषि शाखामा बसेर प्रशासनको काम गरेर बस्नु पर्ने भएकाले दुईजना प्राविधिक कृषकहरूको खेतबारीमा पुग्न त परैजाओस सल्लाह लिन कार्यालयमा आएका कृषकहरूलाई सल्लाह दिन समेत नभ्याएको प्रमुख बयकले बताउनु भयो ।

प्रयाप्त प्राविधिकहरूको अभावमा गाउँमा कृषि प्राविधिकहरू पठाउन नसकेको जुगल गाउँपालिका कृषि शाखा प्रमुख लालबहादुर बयकले बताउनु भयो । किसानको खेतबारीमा पुगेर सेवा दिने भनिएको भएपनि प्राविधिकको अभावले भएको बयकले बताउनु भयो ।

कृषकहरूको माग र भनाई जाहेज भएको बताउदै गाउपालिका उपाध्यक्ष सिर्जना तामाङले कृषकको माग सम्बोधन गरिने बताउनुु भयो । उहाँले गाउँपालिकाले भएपनि कृषि प्राविधिकको प्रयाप्त मात्रामा व्यवस्था गरी कृषकहरूलाई सेवा दिने बताउनु भयो ।

समयमा मल,विउ नपाउने, बालिमा रोग लाग्दा प्राविधिक सल्लाह नपाउँदा समस्या भएको कृषकहरूले बताएका छन् । कृषि प्राविधिकको सल्लाह नपाउदा कृषि उत्पादनमा कमी आएकोे जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले बताउनु भयो । यो समस्या जिल्ला भरीको समस्या भएकाले केन्द्र सरकारले नै यो समस्यालाई समाधान गनुपर्ने उहाँको सुझाव छ ।

अन्य

भिडियो