जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा बिरामी राख्ने वेडको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
जिल्लामा हिउँ परिरहेको अवस्थामा कार्यालयमा बिरामीको चाप बढिरहँदा बेडको अभावमा सेवाग्राही प्रभावित भएका हुन ।
१५ शैया वेड भएको स्वास्थ्य सेवा कार्यालयमा आजभोली बिरामी हुनेको संख्या बढदै गएपछि बिरामी बस्ने वेडको अभाव भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख डाक्टर नविन रोकायाले जानकारी दिनु भयो ।
जिल्लामा मौसम परिवर्तन भएसँगै मौसमी रोगका बिरामी बढि देखिएकाले १५ शैयाको वेड रहेको सो स्वास्थ्य सेवा कार्यालयमा दैनिक ४० देखि ८० जनासम्म ओपिडी चेक जाँच गर्न आउने गरेका छन् भने, इमरजेन्सीमा भर्ना हुनेमा दैनिक १५ जना भन्दा बढि रहेकाले वेडको व्यवस्थामा समस्या हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताउनु भयो ।
सदरमुकाम सिमकोटमा रहेका बिरामी मात्र नभएर नजिकका गाउँपालिकाका बिरामी औषधि उपचार गर्न आउने गरेको अधिकारी फडेराको भनाई छ । हुम्लामा चिसोका कारण आजभोली धेरै बिरामी आउने गरेकाले स्वास्थ्यकर्मीलाई समेत उपचार गर्न भ्याईनभ्याई भएको डाक्टर रोकायाले बताउनु भयो । विशेष गरेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा आउने बिरामीहरू मध्ये बालबालिकामा निमोनिया र कोल्ड डाईरियाका रोग देखा परेको छ भने बृद्वबृद्वामा दम, हाड जोर्नी दुख्ने र महिलामा पाठेघरको समस्या हुने, पेट दुख्ने जस्ता समस्या भएका बिरामी आउने गरेका छन् ।
त्यस्तै खार्पुनाथ गाउँपालिकामा रहेका अधिकांश स्वास्थ्य चौकीमा औषधिको अभाव देखा परेपछि त्यहाँका सामान्य बिरामीले पनि जिल्ला स्वास्थ्य कार्यालयमा धाउनु पर्ने दुःख अझँै हटेको छैन खार्पुनाथ गाउँपालिका–७ की स्थानीय पेमा परियारको गुनासो छ । नेपाल सरकारले गाउँगाउँमा सिंहदरवार पुगेको भन्ने गरेता पनि हुम्लाका स्थानीयले सिटामोल समेत नपाएर उपचारबाट बन्चित हुनु परेको सिमकोट गाउँपालिका–८ की स्थानीय पुष्पा शाहीले गुनासो गर्नु भयो ।
उहाँका अनुसार सदरमुकाम नजिकै रहेको खोल्सी सामुदायिक स्वास्थ्य इकाइमा पनि स्वास्थ्यकर्मी नै नवस्ने कहिलेकाँंही बसेपनि स्वास्थ्य इकाइमा औषधि नै नहुने गरेपछि चार घण्टाको पैदल यात्रामा जिल्ला स्वास्थ्य सेवा कार्यालयमा धाउनु पर्ने बाध्यता रहेको छ । उहाँले भन्नु भयो १४ महिनाको छोरालाई निमोनिया भएपछि सो स्वास्थ्य समुदायिक स्वास्थ्य इकाइमा जांँदा स्वास्थ्यकर्मी नै नभेटिएपछि आफु जिल्ला स्वास्थ्य सेवा कार्यालयमा धाउनु प¥यो । जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पनि बिरामीको संख्या धेरै देखिएपछि बस्ने वेडको समस्या भएको शाहीले गुनासो गर्नु भयो ।
डाक्टर नविन रोकाया भन्नु हुन्छ बिरामीलाई उपचारका लागि वेडको मात्र समस्या नभएर विद्युत र खानेपानीको समस्या पनि देखिएको छ ।
