INSEC Online

📅 २०८३ जेष्ठ २१

चामल  लिनै सकस  !

दुर्गम गाउँ अन्तरगत चुमनुव्री गाउँपालिका–१ सामागाउँ र  सोहि गाउँपालिका–७ छेकम्पारका स्थानीयले खाद्यको सहुलियत दरको चामल लिन कम्तिमा दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

चुमनुव्री गाउँपालिका–३ मा रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको सिर्दिवास डिपोले उक्त भेगका स्थानीयलाई चामल बिक्री गर्दै आएको छ । सिर्दिवास डिपोबाट सिर्दिवास सहित ल्हो, विहि, प्रोक, छेकम्पार,चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरको चामल बिक्री हुन्छ ।

‘सामागाउँबाट सिर्दिवास पुग्नै दुई दिन लाग्छ, – सामागाउँमा लोप्साङ लामाले भन्नुभयो,‘अहिले खच्चडबाट बोकाएर चामल लाने गरेका छौँ ।’

उक्त क्षेत्रका स्थानीयले  चुमनुव्री गाउँपालिका–३ प्रोकको नामरुङमा अर्को डिपो स्थापनाका लागि माग राख्दै आएपनि मागको सम्बोधन हुन सकेको छैन । २०७४ पौष १९ गतेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले प्रोकको नामरुङमा थप डिपो स्थापनाका लागि तत्कालिन नेपाल खाद्य संस्थालाई प्रस्ताव गरेपनि हाल सम्म कुनै निर्णय हुन नसकेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडका गोरखा शाखा प्रमुख नविन बस्नेतले बताउनुभयो ।

‘डिपो स्थापनाका लागि पहल भइरहेको छ, निर्णय भएको छैन,’ उहाँले भन्नुभयो ।

नामरुङमा डिपो स्थापना भए प्रोक, ल्हो र सामागाउँका स्थानीयलाई सजिलो पर्ने ल्होका दोर्जे लामाले बताउनुभयो ।‘नामरुङ भए एक दिन कम हिँडे पनि पुग्छ,’–भन्नुभयो । खाद्य डिपोको अलावा आरुघाटबाट खच्चडमा बोकाएर पनि चामल ढुवानी गर्ने गरेको उहाँले बताउनुभयो ।

उत्तरी गोरखामा धान खेति हुदैन । मुख्य खाद्य बालिको रुपमा गहुँ, जौ, आलु खेतिलाई लिइन्छ । चामल लगायतका दैनिक उपभोग्य सामाग्री आरुघाट बजारबाट खच्चडमा बोकाएर लैजाने गरेको लोप्साङले बताउनुभयो । आरुघाट बाट सामागाउँ सम्म उपभोग्य सामाग्री ढुवानी गर्न मात्र चार दिन लाग्ने गरेको उहाँको भनाइ छ ।

नामरुङमा डिपो स्थापना भए चामलका लागि भने दुई दिन हिँडेर सिर्दिवास आउने वाध्यता हट्ने उहाँको भनाइ छ । गोरखाका उत्तरी क्षेत्रमा सिर्दिवास र माछाखोला डिपोबाट खाद्यको सहुलियत दरको चामल उपलब्ध हुदै आएको छ ।

स्थानीय तहको जनप्रतिनिधिको सिफारीसमा उक्त क्षेत्रका स्थानीयहरुलाई चामल उपलब्ध गराउने  प्रावधान छ ।

 

 

अन्य

भिडियो