कलैया उमनपा–१६ मझौलीया निवासी ३८ वर्षीया जलेखा खातुनका परिवार साहुको ऋण तिर्न नसकेर विस्थापित हुने अवस्थामा छ । तीन जना छोरीको विहेमा दाइजो दिन साहुसँग लिएको २० लाख रुपियाँ र सोको ऋण तिर्न नसकेर ती परिवार विस्थापित हुने अवस्थामा पुगेको हो ।
इस्लाम धर्ममा दाइजो लिने दिने कार्यलाई निषेध गरिएको छ । तर, बारा जिल्लाका अधिकांश भेगमा मुश्लिम समुदायमापनि देखासिकीले दाइजो लिने–दिने चलन बढेको छ । खातुनले आफ्नी छोरीको विहे गर्न पुर्खाैली सम्पत्ति विक्री गरेर ऋण तिर्नु भएको छ । तर, ७ लाख रुपियाँ गाउँका साहू महाजनलाई दिन अझै बाँकी रहेको खातुन बताउनु हुन्छ । आम्दानी नभएको र चर्काे व्याज भएकाले ऋण बढेर ५० लाख रुपियाँ पुगेको साहुको दाबी छ ।
खातुनले २०७५ असार ३० गते कच्चि घर रहेको आठ धुर घडेरी १२ लाख ८० हजार रुपियाँमा विक्री गरी साहुलाई दिनु भएको छ । तर, अझै ३८ लाख रुपियाँ ऋण तिर्न बाँकी रहेको साहुले भन्ने गरेको पीडित खातुनले दुःखेसो पोख्नु हुन्छ । ती परिवारसँग उक्त घडेरी बाहेक सम्पत्ती केही कतै छैन ।
घरमा रहेका ७५ वर्षीय ससुरा सलिम अन्सारी र कान्छो छोरा सँगै रहेको खातुन बताउनु हुन्छ । बस्ने घर नभएको, खाने अनाज नभएको, कपडाको अभाव र साहुले ऋणको ताकेता गर्दै धम्की दिने गरेका कारण बाँच्न असहज भएकाले फागुन २ गते इन्सेक कार्यालय बारामा न्यायका लागि पहल गरिदिनु हुन भनि पीडितले निवेदन मार्फत आग्रह गर्नु भएको छ ।
जेठी छोरी २५ वर्षीया अप्सना खातुनको १० वर्ष पहिला कलैया उमनपा–८ देवीगञ्जमा विवाह गर्दा ७ लाख रुपियाँ खर्चेका थिए । माइली छोरी २३ वर्षीया रहना खातुनको कोल्हवी नगरपालिका रङ्गपुरमा आठ वर्ष पहिला विवाह गर्न ५ लाख रुपियाँ खर्च गर्नु भएको थियो । कान्छी छोरी अप्सना खातुनको तीन वर्ष अगाडि कलैया उमनपाको ठुलो रामपुरमा विवाह गर्न ८ लाख रुपियाँ खर्च गर्नु भएको थियो ।
जेठी र माइली छोरीलाई मोटरसाइकल खरिद गर्न नगद २ लाख ५० हजार रुपियाँ र कान्छी छोरीलाई मोटरसाइकल किनेर दहेज दिएको पीडित परिवारको भनाई छ । गहना, कपडा र भोज खुवाउँदा ऋण लागेकाले आफू बिचल्लीमा परेको खातुनले बताउनु भयो । दहेज नदिए छोरीको विवाह हुँदैन दहेज दिँदा घडेरी विक्री भएपनि साहुको ऋण तिर्न बाँकी रहेको उहाँको दुखेसो छ ।
१७ वर्षीय छोरा फैयाज अन्सारी नारायणगढमा मोटरसाइकल ग्यारेजमा काम सिकिरहेको छ भने १५ वर्षीय छोरा रेयाज अन्सारी काठमाडौंमा सिलाइ–बुनाई सिकिरहेको छ, त्यस्तै १२ वर्षीय छोरा मेराज अन्सारी कलैयामा मोटरसाइकल ग्यारेजमा काम सिकिरहेको खातुनले बताउनु भयो । उहाँले छोरीको विवाह गर्दा ऋण लागेकाले छोराहरूलाई पढाउन नसकेको दुखेसो पोख्दै पढ्ने उमेरमा छोराहरूलाई पढाइ छुटाउने गरी काममा पठाउनु पर्ने बाध्यता रहेको उहाँको दुखेसो छ ।
ऋण लागेपछि पति हासिम मियाँ अन्सारी साउदी अरबमा डकर्मीको काम गरिरहेका छन् । पतिले १० देखि २० हजार रुपियाँ मासिक कमाउनु हुन्छ । उहाँले पनि मासिक न्युन रकम पाउनु भएका कारण बचत हुन नसकेर नेपालमा पैसा पठाउन नसकेको पीडित खातुन बताउनु हुन्छ । खातुनका अनुसार पति पैसा कमाएर ऋण तिर्न नसक्ने र नेपाल आउन पनि ऋण नतिरि कसरी आउने भन्ने समस्या भएकाले साउदी अरबमा अन्यौलमा परेका छन् ।
नेपाली उखान नै छ–“ऋण लिँदा छोरा जन्माएको सुख र तिर्दा आमा मरेको दुःख”–यस्तै दुःखको कारण साहुको ऋण तिर्न नसकी यो परिवार विस्थापन हुने अवस्थामा छ ।