ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका रामेछाप जिल्ला घर भई काठमाडौंको गोंगबु निवासी लोकदोहरी गायक ३६ वर्षीय प्रकाश कटुवाललाई ०७६ फागुन १९ गते राति जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले कुटपिट गर्नुभएको छ ।
डिएसपी लामिछानेले कटुवाललाई राति ९ बजे आफ्नो कार्यकक्षमा बोलाएर पाइपले दाहिने खुट्टाको साप्रामा कुटपिट गर्नुभएको कटुवालका साथी कलाकार रमेश दुलालले बताउनुभयो ।
कुटपिटको कारण कटुवालको खुट्टाबाट रगत बगेपछि प्रहरीले उनलाई राति नै दमौली अस्पताल लगेर उपचार गराएको दुलालले बताउनुभयो ।
डिएसपी लामिछानेले भने आफुले गायक कटुवाललाई कुटपिट नगरेको बताउनुभएको छ । उहाँले गायक कटुवालको मुद्दा बारेमा सोधपुछ गर्न आफ्नो कार्यकक्षमा बोलाएको र धेरै बेरसम्म उभ्याएका कारण खुट्टाबाट रगत बगेको हुनाले आफैे उपचारको लागि पठाएको बताउनुभयो ।
‘उहाँको खुट्टामा पहिलै देखि समस्या रहेछ, त्यही कारण रगत बगेको रहेछ ।’ डिएसपी लामिछानेले भन्नु भयो, ‘त्यो देखेपछि मैले तुरुन्तै अस्पताल पठाएँ ।’
यस सम्बन्धमा फागुन २० गते बिहान गायक कटुवालका आफन्तले जिल्ला प्रहरी कार्यालयमा विरोध जनाएपछि डिएसपी लामिछानेले माफी माग्नु भएको थियो । लामिछानेले आफुले रातिको घटनामा माफी मागेको बताउनुभयो ।
बन्दिपुर गाउँपालिका -१ डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङलाई फागुन २ गते राति कुटपिट गरेको अभियोगमा गुरुङका आफन्तको उजुरी पश्चात गायक कटुवाल फागुन ५ गते देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा हुनुहुन्छ ।