चार वर्षीया बालिकाको जन्मदर्ता प्रमाण पत्रमा राजगढ गाउँपालिका–२ का २२ वर्षीय बुवा अशोक कुमार पण्डितको नाम उल्लेख गरी जन्मदर्ता बनाउन भन्दै उच्च अदालत जनकपुर राजविराज इजलाशले फागुन १८ गते फैसला गरेको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधीशहरू बिपुल न्यौपाने र लेखनाथ ढकालको संयुक्त इजलाशले राजगढ गाउँपालिका–२ की १९ वर्षीया सन्जुकुमारी पण्डितले छोरी सोहिनीकुमारी पण्डितको जन्मदर्ता बनाउन माग गर्दै दिएको रिटमा बुवा अशोक कुमार पण्डितको नाम उल्लेख गरी जन्मदर्ता बनाउन फैसला भएको इजलाश अधिकृत किशोर राईले जानकारी दिनु भयो ।
पीडितले छोरीको बुवा अशोक, राजगढ गाउँपालिका–२ को वडा कार्यालय र कार्यालयका पञ्जिकाधिकारी एवम् सचिव रामविलास यादवविरुद्ध परमादेशको आदेश जारी गर्न माग गर्दै ०७५ पुस ७ गते परमादेशको रिट निवेदन दिनु भएको थियो । पीडितकी अधिवक्ता मीना देवले बालिकाको पहिचानसहितको जन्मदर्ताको हक, शिक्षाको हक जस्ता संवैधानिक र कानूनी हकको हनन भएकोले व्यक्तिगत घटना दर्ता (दर्ता गर्ने) ऐन २०३३ समेतका आधारमा परमादेशको रिट जारी भएको जानकारी दिनु भयो । जिल्ला अदालतको विगतको फैसलाबमोजिम नै सोहिनीको जैविक बुवा अशोक भएको प्रमाणित भइसकेकोले जन्मदर्ता प्रमाणपत्रमा बुवाको नाम उल्लेख गरी जन्म दर्ता बनाउने फैसला हुनु स्वभाविक भएको अधिवक्ता देवले बताउनु भयो ।
जन्मदर्ता बनाउन राजगढ गाउँपालिका–२ नम्बर वडा कार्यालयका अध्यक्षविरुद्ध ०७४ पुस १ गते परमादेश आदेश जारी भएपछि वडा अध्यक्षले सोहिनीको जन्म ०७० पुस ८ गते भएको कुरा प्रमाणित गर्नु भएको छ । बालिकाको जन्मदर्ता प्रमाणपत्रका लागि दिएको निवेदन पञ्जिकाधिकारीले दर्ता नगरी दरपिठ समेत नगरेपछि पीडितले जिल्ला हुलाक कार्यालयबाट ०७४ पुस ४ गते निवेदन रजिष्ट्री गरी पठाउनु भएको थियो । रजिष्ट्री गरी पठाएको निवेदन ०७४ पुस ६ गते वडा कार्यालय पुगेको छ । तथापि पञ्जिकाधिकारीले निवेदन दर्ता नगरे पछि पीडितले रिट निवेदन गर्नु परेको बताउनु भयो ।