मनरासिसवा नपा–३ बस्ने ६१ वर्षीय ससुरा सहदेवप्रसाद यादवलाई फागुन १८ गते बिहान थप दाइजो नदिएको भन्दै गोली प्रहार गरेको घटनाको आरोपमा प्रहरीले औरही नपा–१ बस्ने २७ वर्षीय ज्वाइँ सन्तोष यादवलाई सोही दिन गिरफ्तार गरेको छ ।
थप दाइजोमा ५ लाख रुपियाँ माग गर्दा नपाएको रिसमा आफ्नै ससुरा माथि गोली प्रहार गरेको आरोपमा सन्तोषलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भएको छ ।
फागुन १८ गते बिहान शौचालय जान निस्केका बेला सहदेवमाथि गोली प्रहार हुँदा उहाँको छातीमुनी गोली लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइते सहदेवलाई उद्धार गरेर जनकपुर स्थित जानकी केयर अस्पतालमा फागुन १८ गते उपचार गरिएको र घाइते सहदेवको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
अवकास प्राप्त शिक्षक रहेका आफ्ना ससुरासँग सन्तोषले ५ लाख रुपियाँ मागेको र सो रकम नदिँदा पटक–पटक धम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी बुढाथोकीले बताउनु भएको छ ।