INSEC Online

📅 २०८३ जेष्ठ २१

विपन्न लक्षित छात्रवृत्ति पाउनबाट विद्यार्थी बञ्चित

विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यालयले चासो नदेखाएपछि आर्थिक वर्ष ०७५\०७६ मा विपन्न विद्यार्थीले छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन् ।

जिल्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका ४६ सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ६ हजार ५ सय ७८ जना लक्षित तथा विपन्न वर्गका विद्यार्थी वञ्चित भएका हुन् । दलित विद्यार्थी ८ सय ६५ रहेका छन् भने अपाङ्गता भएका विद्यार्थी १ सय ६७ जना अध्ययनरत रहेका छन् ।

तातोपानी गाउँपालिकास्थित हिमशिखर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत दलित छात्र दिप परियारले भन्नुभयो ‘विपन्न लक्षित छात्रवृत्तिका विषयमा हामीलाई जानकारी नै भएन ।’ उहाँले भन्नुभयो यस विषयमा न त शिक्षकले नै जानकारी दिए नत अन्य सरोकारवाला निकायले नै । चालु वर्षमा अहिले एसइइ परीक्षाको तयारी गरिरहेको उहाँले भन्नुभयो अहिले पनि यस विषयमा जानकारी छैन ।

छात्रवृत्ति सिफारिसका लागि पटक–पटक सूचित गरे पनि विद्यालयहरूले वेलैमा चासो नदिएको जिल्ला शिक्षा समन्वय इकाइका तत्कालीन प्रमुख महेश देवकोटाले बताउनुभयो । ‘गत वर्ष जिल्लाका कुनै पनि विद्यालयले विपन्नलक्षित छात्रवृत्ति फारम भरेनन्  । उहाँले भन्नुभयो विद्यालयमा शिक्षक कर्मचारीको दक्षता पनि नभएको र चासो पनि नदिएका कारण कुनै पनि विद्यार्थीले फाराम भर्न नपाएका हुन् । स्थानीय तहका सवै शिक्षक र शिक्षा संयोजकलाई जानकारी गराएको हो तर चासो दिएनन् । विद्यालयले नै चासो नदिदा यहाँका विद्यार्थी छात्रबृत्ति पाउनबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षमा पनि अहिलेसम्म शिक्षा तथा मानव श्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिले सार्वजनिक गरेको वेबसाइटमा सार्वजनिक गरेको सुचना अनुसार जुम्लाका तीन विद्यालयले मात्र विपन्नलक्षित छात्रवृत्ति फाराम भरेका छन् । फाराम भर्नेमा कनकासुन्दरी गाउँपालिकास्थित कनकासुन्दरी मावि लुड्कु, पाण्डबगुफा मावि कोटघर र मालिका मावि धापा रहेका छन् ।
फारम भर्न वडाको सिफारिस, विद्यालयको सिफारिस, अभिभावक तथा विद्यार्थीको निवेदन, विद्यार्थीको व्यक्तिगत विवरण, विद्यार्थीको तीन पुस्ते विवरणलगायत
कागजात आवश्यक पर्ने भएकाले झन्झट भएको सरस्वती माध्यमिक विद्यालय कुडारीका लेखापाल शान्तिनाथ योगीले गुनासो गर्नुभयो । राज्यले विपन्नलक्षित विद्यार्थीका लागि राम्रो अवसर त दिएको हो तर फाराम भर्ने प्रक्रिया झनझटिलो र विद्यार्थीमैत्री नभएको उहाँले बताउनुभयो । गत वर्ष फाराम भरेर पठाउने तयारी गरिएको थियो तर वेवसाइट नै नचलेपछि पठाउन नसकिएको कर्णाली माध्यमिक विद्यालय जुम्लाका प्रद्यानाध्यापक मिनराज शर्माले बताउनुभयो । चालु वर्षका लागि फाराम भर्ने तयारी गरेका छौँ ।

ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका प्रद्यानाध्यापक हरिबहादुर बुढाका अनुसार गतबर्ष यस विद्यालयबाट १ सय जना जति विद्यार्थीको छात्रबृत्तिका लागि फाराम भर्ने तयारी गरिएको थियो तर यहाँको ग्रामिण भेगका सामुदायिक विद्यालयमा आइसिटीको पूर्ण व्यवस्था नभएको र कम्प्युटर र इन्टरनेट पनि नचल्ने भएकाले फाराम भर्न सकिएन ।

तिला गाउँपालिका शिक्षा संयोजक दिपेन्द्र हमालले भने गतवर्ष नयाँ कार्यक्रम भएकाले छोटो समयमा सूचना निस्केको जानकारी भयो र बुझ्न पनि समय लागेको बताउनुभयो । उहाँले भन्नुभयो यहाँका विद्यालय इमेल इन्टरनेटको पहुँच भन्दा बाहिर भएकाले पनि समस्या भएको हो । यस बर्ष आगामी चैत २० गतेसम्म फाराम भर्ने सूचना प्राप्त भएको छ । सवै विद्यालयलाई जानकारी पनि गराएका छौँ उहाँले भन्नुभयो छात्रबृत्तिको छनोटमा परे पनि नपरे पनि धेरै विद्यार्थीको फाराम भरेर पठाउने योजना बनाएका छौँ ।

जिल्ला शिक्षा समन्वय इकाइ जुम्लाका सूचना अधिकारी शिवशंकर चौलागाईका अनुसार गतवर्ष के कति विद्यार्थीले छात्रवृत्तिका लागि फाराम भरे जानकारी भएन । चालुवर्षमा छात्रवृत्तिका लागि छनोट भएका न्यून विद्यार्थीको थप अध्ययन गरी पठाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिले विवरण पठाएको छ । उहाँले भन्नुभयो छात्रवृत्तिका लागि पुन सूचना भएको छ । यस विषयमा सवै स्थानीय तहका शिक्षा संयोजकलाई पनि
जानकारी गराएको उहाँले बताउनुभयो ।

छात्रवृत्ति फारम भरे कक्षा ९ र १० का विद्यार्थीले वार्षिक ६ हजार रुपियाँका दरले रकम पाउँछन् । कक्षा ११ र १२ का विद्यार्थीले २० हजारदेखि २४ हजार रुपियाँसम्म पाउने शिक्षा तथा मानव श्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिले व्यवस्था गरेको छ ।

20200301

अन्य

भिडियो