बरियारपट्टी गाउँपालिका–३ की १५ महिने नाबालिका आशिकी यादवको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले मृतककी फुपू बरियारपट्टी गाउँपालिका–१ की २२ वर्षीया मम्ताकुमारी यादवलाई फागुन १३ गते गिरफ्तार गरेको छ ।
देवेन्द्र यादवकी छोरी आशिकी माघ २७ गते देखि घरबाटै हराएकी थिइन् । माघ २८ गते खोज तलासको क्रममा बिहान ९ बजे घर नजिकै रहेको पोखरीमा बोरामा बाँधेर इट्टा सहित डुबाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरे बताउनु भएको छ । डिएसपी घिमिरेका अनुसार घटनाको अनुसन्धानको क्रममा आरोपित मम्ताले नै बालिकालाई खेलाउने क्रममा घरबाट बाहिर लिएर गएको र आफू मोबाइलमा व्यस्त भएपछि बालिका पोखरीमा डुबेको र उनले सो घटना लुकाउन बोरामा हालेर इट्टाले बाँधी डुबाएको खुल्न आएको छ ।
आरोपित मम्तालाई फागुन १ गते नै गिरफ्तार गरी अभद्र मुद्दा चलाइएको थियो । घटनाको अनुसन्धानका क्रममा बालिकाको हत्या भएको खुल्न आएकोले फागुन १३ गते कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी कारवाही प्रकृया अगाडी बढाइएको डिएसपी घिमिरेले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा माघ २८ गते भएको डिएसपी घिमिरेले जानकारी दिनु भयो ।