अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा प्रदेश १,मा गत वर्षको तुलनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२०,प्रदेश १ को मानव अधिकार अवस्था विषयमा छलफल कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार मानव अधिकार उल्लङ्घन र ज्यादतीमा घटनामा गत वर्ष भन्दा यस वर्ष वृद्धि भएको छ ।
इन्सेक प्रदेश १,कार्यालय विराटनगरले फागुन ७ गते आयोजना गरेको मानव अधिकार अवस्था छलफल कार्यक्रममा सन् २०१९ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् ।
प्रदेश १,का १४ ओटा जिल्लामा इन्सेक प्रतिनिधिले सन् २०१९ को जनवरीदेखि डिसेम्वर सम्म अभिलेखीकरण गरेका घटनामा ८ सय ५२ जना पीडित भएको इन्सेक प्रदेश संयोजक सोमराज थापाले बताउनुभयो ।
इन्सेक अभिलेखीकरणका आधारमा सन् २०१९ मा गिरफ्तारीका घटनामा ८३ जना,महिला अधिकार उल्लङ्घनका घटनामा ३ सय ३५ जना,हत्या घटनामा ७७ जना,बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय १ जना पीडित भएका छन् ।
जसमा इन्सेक अभिलेखका अनुसार राज्य पक्षबाट २ जनाको हत्या,४ जनामाथि कुटपिट,६ जना कुटपिटबाट घाइते,८३ जना गिरफ्तार,अभिव्यक्ति,भेला तथा सङ्गठित हुने अधिकारबाट एक जना र हिरासत वा थुनुमा एक जनाको मृत्यु भएको उल्लेख छ ।
सन् २०१८ मा प्रदेश १ मा ७ सय ८७ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा पीडित भएका थिए । जसमा राज्य पक्षबाट ६१ जना पीडित भएका थिए ।
महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय १९ जना,जातीय विभेदका घटनामा ४ जना,गिरफ्तारीका घटनामा ४३ जना,बाल अधिकारका घटनामा २ सय ३९ जना पीडित भएको इन्सेकले अभिलेख गरेको थियो ।
सन् २०१९ मा भोजपुरमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु र झापामा एक जनाको हिरासतमा मृत्यु भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।
यसैबीच नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को सार्वजनिकीकरण तथा प्रदेश १,को मानव अधिकार अवस्थाका विषयमा पत्रकार,अधिकारकर्मीबीच फागुन ७ गते इन्सेक प्रदेश १,कार्यालयले छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
इन्सेक कार्यालयमा आयोजित छलफल कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सन् २०१९ मा उत्कृष्ट अनुगमन र अभिलेखीकरण गरेको मूल्याङ्कन गर्दै इन्सेक उदयपुर प्रतिनिधि भरत खड्कालाई नगद सात हजारसहित प्रशंसा पत्रले सम्मान गरेको छ ।
छलफल कार्यक्रममा प्रमुख अतिथिप्रदेश सभा सदस्य अम्बिका थापाले इन्सेकले नेपालको मानव अधिकार आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले युद्धका बेला महिला,बालिका र ज्येष्ठ नागरिक पीडित हुनु स्वाभाविक भएपनि शान्ति प्रक्रिया पश्चात पनि महिला,बालिका र ज्येष्ठ नागरिक दिन प्रतिदिन पीडित हुँदै जानु चुनौती थपिएको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय प्रमुख मोहनदेव जोशीले इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई अभिलेखीकरण गरी नेपाल सरकारलाई सघाएको बताउनुभयो । उहाँले जनयुद्धमा पीडित भएकाहरुले इन्सेक अभिलेखकरणका आधारमा पछिल्ला दिनमा न्याय पाउन थालेकाले नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्व झन् बढेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका मानव अधिकार विज्ञ कोषराज न्यौपानेले अधिकारकर्मीका लागि इन्सेकको वर्ष पुस्तक उत्कृष्ट दस्तावेज भएको बताउनुभयो । उहाँले इन्सेक आगामी वर्ष पुस्तकमा मौलिक हकका विषयमा राज्यले उपलब्ध गराउने सेवा सुविधाका बारेमा अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष डिकप्रसाद घिमिरले इन्सेकले २८ वर्ष सम्म नेपालको मानव अधिकार अवस्थालाई वर्ष पुस्तकमा अभिलेखीकरण गरी पीडितलाई न्याय दिलाउनका लागि पहल गरेको बताउनुभयो ।






