INSEC Online

📅 २०८३ जेष्ठ २१

सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा झण्डै ७ हजार व्यक्ति पीडित

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०१९ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा सो तथ्याङ्क समेटिएको हो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को विमोचन इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् राष्ट्रपतिका पूर्व मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलले गर्नुभएको हो ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भए । सन् २०१८ मा यस्ता घटनामा ५ हजार १ सय १० जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

सन् २०१९ मा मानव अधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी जम्मा ९ सय ३० जना तथा ज्यादतीका घटनामा ५ हजार ५८ जना महिला र ६ सय ५४ जना पुरुष गरी जम्मा ५ हजार ७ सय १२ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले  बताउनुभयो ।

उहाँले भन्नुभयो–‘गत वर्षको तुलनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा यस वर्ष १ हजार ५ सय ३२ जना बढी पीडित भए ।’

‘यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई जना, सप्तरीमा एक जना, सर्लाहीमा दुई जना, रुपन्देहीमा एक जना र कपिलवस्तुमा एक जना गरी सात जनाको मृत्यु भएको इन्सेकले अभिलेख गर्‍यो ।’–इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ ।

यो वर्ष यातनाका घटनामा १३ जना, गिरफ्तारीका घटनामा ७ सय २ जना, जातीय विभेदका घटनामा ६२ जना, अमानवीय व्यवहारका घटनामा ४० जना, भेला तथा सङ्गठित हुने अधिकारमा ९६ जना र धम्कीका घटनामा ३५ जना र कुटपिटका घटनामा २ सय ७७ जना पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ ।

‘सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६४ जना पीडित भएको अभिलेख भयो । यस वर्ष बेचबिखनका प्रयासका घटनामा ६९ जना, घरेलु हिंसाका घटनामा २ हजार ७९ जना, कथित बोक्सीको आरोपमा ४२ जना, बलात्कारका घटनामा ५ सय ३० जना, बलात्कार प्रयासका घटनामा १ सय ४३ जना, यौन दुर्व्यवहारका घटनामा ६३ जना र बेचबिखनका घटनामा ५१ जना महिला पीडित भएको अभिलेख भयो ।’–कार्यकारी निर्देशक गौतमले भन्नुभयो ।

बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय ४७ जना बालबालिका पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ ।

नेपालको सङ्क्रमणकालीन न्यायः राजनीतिक इच्छाशक्तिको सङ्कट

अन्य

भिडियो