सशस्त्र द्वन्द्वको क्रममा पीडित नौकुण्ड गाउँपालिका–१ यार्साका ५८ वर्षीय सुकुबहादुर तामाङले अहिलेसम्म राहत नपाएको गुनासो गर्नुभएको छ ।
तत्कालिन राज्य तथा विद्रोही नेकपा माओवादीले पनि आफुलाई बेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो । ०६२ सालमा राज्यका तर्फबाट माओवादी आतंककारी भन्दै गिरफ्तार गरी चरम शारिरिक तथा मानसिक यातना दिएको उहाँले बताउनु भयो । आफूसँगै यातना भोग्नेहरूले सरकारबाट राहत पाए पनि आफुले कैतबाटपनि राहत नपाएको उहाँले बताउनु भयो । अपाङ्गता भएका उहाँले ०६७ सालमा अपाङ्ग परिचय पत्र पाउनु भएको छ । ‘राज्यले मात्र होइन आफ्नै पार्टी तत्कालिन माओवादीले पनि वास्ता गरेन’ उहाँले दुःखेसो गर्नुभयो ।
प्रहरी तथा नेपाली सेनाले पटक पटक गिरफ्तार गरेर यातना दिएको उहाँले बताउनुभयाे । उहाँलाई ०६२ साल फागुन १५ गते गिरफ्तार गरी ५ महिनासम्म रसुवा कारागारमा राखिएको थियो । जन आन्दोलन ०६२ /०६३ को सफलतापछि इन्सेक रसुवा जिल्ला प्रतिनिधि तथा पत्रकारहरूको रोहवरमा उहाँलाई रिहा गरिएको थियो । मस्तिष्क र हड्डीको समस्या देखिएपछि आफ्नो सवै जग्गा बेचेर उपचार गरेको उहाँको गुनासाे छ ।
जिल्लामा तत्कालिन शान्ति समितिदेखि मन्त्रालयसम्म धाउदापनि आफ्नो कुराको सुनुवाइ नभएको उहाँले इन्सेकको रसुवा जिल्ला प्रतिनिधिसँगको भेटमा गुनासो गर्नुभयो । त्यस्तै रसुवा कालिका गाउँपालिका–३ का ५४ वर्षीय मानवहादुर बिकले पनि आफूले राहत नपाएको गुनासो गर्नुभयो । ०५९ सालमा तत्कालिन विद्रोही नेकपा माओवादी कार्यालर्ताहरूले सडक अवरुद्ध पार्ने क्रममा रुख ढाल्न प्रयोग गरेको र त्यस बेला प्रहरी तथा सेनाले गिरफ्तारपछि एक महिनासम्म यातना दिएको उहाँले बताउनु भयो । ‘आजसम्म कुनै निकायले राहत दिने कुरासम्म उठाएनन्’ उहाँले भन्नुभयो ।