INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

‘ङ’ श्रेणीको बाजुरा जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ ।

कारागरमा एक जना अहेबको दरबन्दि रहेको भए पनि रिक्त रहेकोले सामान्य उपचारका लागि कैदी तथा थुनुवालाई जिल्ला अस्पताल बाजुरामा पुर्‍याउनु पर्ने बाध्यता रहेको जेलर रामकुमार चौधरीले बताउनु भयो  ।

कारागारमा स्वास्थ्यकर्मी नभएका कारण समान्य उपचारका लागि पनि आफूहरूले जिल्ला अस्पताल धाउनु पर्ने र भवन जीर्ण अवस्थामा रहेका कारण हिउदमा निकै चिसो र वर्षातमा चुहीने हुँदा समस्य झेल्नु परेको कैदी चुडामणी ओलीले दुखेसो पोख्नु भयो ।

कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेकाले सुत्ने ठाउँ अभावले एक आपसमा टासिएर सुत्नु पर्दा कैदीबन्दीमा बढी मात्रामा छाला सम्बन्धि सरूवा रोगहरू देखिने गरेको जिल्ला अस्पताल,बाजुराका प्रमुख डाक्टर रूपचन्द्र बिश्वकर्माले बताउनु भयो ।

कारागारमा कैन्दीबन्दीहरूलाई सर्ने र नसर्ने रोगका बारेमा समेत समान्य जानकारी दिन नसकिएकै कारण गएको हप्ता कारागारमा रहेका एक जना कैदीलाई हेपाटाइटीस ‘बी’ देखीएको खबरपश्चात कैदीबन्दीहरूमा त्रास फैलिएको स्वास्थ्य कार्यालय,बाजुराका रामचन्द्र यादवले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘हेपाटाइटीस ‘बी’का बारेमा परामर्श दिएपछि कैदीबन्दीहरूलाई राहत महसुस भयो । सर्ने र नसर्ने रोगका बारेमा जानकारी दिन अवश्यक छ ।’

कारागारमा स्वास्थ्यकर्मी नभएका कारण एक जना मानसिक रोगीलाई  मानसिक  रोग उपचार तथा स्थान्त्रणको लागि कारागार ब्यबस्था बिभागमा पत्राचार गरेको भए पनि विभागबाट कुनै जानकारी नआएको जेलर रामकुमार चौधरीले बताउनु भयो ।

२०३९ सालमा निर्माण गरिएको बाजुरा कारागारको भवन जीर्ण हुँदा पर्खालमा लगाएको पलाष्टर झर्ने र कैदीबन्दी बस्ने घर चुहीने हुँदा कैदीबन्दीलाई सुत्न,बस्न समस्या हुने गरेको जेलर चौधरीले बताउनु भयो । २५ जनाको क्षेमता भएको कारागारमा हाल ५१ जना कैदीबन्दीहरू रहेका छन् ।

 

 

अन्य

भिडियो