यस वर्ष भजन मानव अधिकार पुरस्कारबाट दैलेखकी सामाजिक अभियन्ता पार्वती बिसुङ्केलाई प्रदान गरिने भएको छ ।
मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील व्यक्तिको नाम सिफारिस गर्न गठित समितिले बिसुङ्केलाई भजन मानव अधिकार पुरस्कार दिने मङ्सिर २२ गते निर्णय गरेको भजन मानव अधिकार पुरस्कार छनौट समितिका संयोजक बसन्त गौतमले बताए ।
मानव अधिकारको मुल्य र मान्यतामा प्रतिवद्ध भई मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा क्रियाशील उपयुक्त ब्यक्तिको नाम सिफारिस गर्न छनौट समितिले कात्तिक २३ गते र्सार्वजनिक आह्वान गरेको थियो ।
छनौट समितिले समितिमा प्राप्त प्रस्तावित नाममध्ये दलित समुदायमा जन्मेर जातीय विभेदको अन्त्य, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा विगत १५ वर्षेखि क्रियाशील दैलेखकी पार्वती बिसुङ्केलाई पुरस्कारका लागि छनौट गरिएको छनौट समितिका सदस्य प्रभातसिंह ठकुरीले बताए । महिला, बालबालिका तथा दलित अधिकारका क्षेत्रमा ०५८ सालदेखि सक्रिय बिसुङ्के हाल स्थानीय शान्ति समिति दैलेखकी संयोजकका रूपमा क्रियाशील छिन् ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने भजन मानव अधिकार पुरस्कारको राशी नगद २५ हजार र सम्मानपत्र रहेको छ । यस अघि पहिलो भजन मानव अधिकार पुरस्कारबाट ०६९ मा बर्दिया जिल्ला गुलरिया नपा-८ की मङ्गलाकुमारी श्रेष्ठ र ०७१ सालमा दोस्रो पुरस्कार बाँके जिल्ला फत्तेपुर गाविसकी सावित्री बर्मालाई प्रदान गरिएको थियो ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जमा अधिकृत पदमा रही लामो समय मानव अधिकारको क्षेत्रमा योगदान दिएका भजनराम चौधरीको प्रात भ्रमण सकेर घर र्फकँदै गर्दा ०६९ जेठ १६ गते बसको ठक्करबाट मृत्यु भएको थियो ।
भजन मानव अधिकर पुरस्कार १० डिसेम्वर (मङ्सिर २५ गते) वितरण गर्ने तयारी भइरहेको पुरस्कार छनौट समितिका संयोजक गौतमले बताए ।
यसैबिच मानव अधिकार सञ्जाल बाँकेले विश्व मानव अधिकार दिवसको सन्दर्भमा द्वन्द्व पीडितको न्याय र अधिकारका लागि विगत एक दशकदेखि स्वयमसेवी रूपमा न्यायको लर्डाई लड्दै आएकी न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेती र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा क्रियाशील राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका मध्यपश्चिम क्षेत्रीय अध्यक्ष भावुकजङ्ग थापालाई सम्मान गर्ने निर्णय गरेको फातिमा फाउण्डेशनकी मैमुना सिद्दीकीले जानकारी दिइन् ।