INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्यकर्मी नहुँदा कारागारमा समस्या

सुधारगृहका रूपमा सञ्चालनमा ल्याइएको इलाम कारागारमा चार महिनायता स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य जाँचमा समस्या भएको छ ।

एक जना अहेबको दरबन्दी भएपनि असोज १ गतेयता खाली रहेको र माथिबाट सरूवा गरी पठाईएका कर्मचारी आइनपुग्दा स्वास्थ्य जाँचमै समस्या भएको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताउनु भयो ।

कारागारमा उच्च रक्तचापका १७ जना , मधुमेहका बिरामी १५ जना रहेको कारागार प्रशासनले जनाएको छ ।

बिरामीको संख्या धेरै हुनु र स्वास्थ्य परीक्षण गराई रहनु पर्दा अस्पताल लान पनि कठिनाइ भएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

सरुवा भएर आउने स्वास्थ्यकर्मीको सरुवाको पत्र आएपनि व्यक्ति भने अझै सम्म सम्पर्कमा नआएको श्रेष्ठले बताउनु भयो । ‘ती स्वास्थ्यकर्मी आउने भनेको मन्थली नगरपालिकाबाट भनिएको छ तर मन्त्रालयसम्म खोज गर्दा कतैबाट सम्पर्क हुन सकेको छैन,’श्रेष्ठले भन्नुभयो ।

कारागारका लागि केन्द्रबाट दुईवर्ष अघि पठाइएको थोत्रो सवारी साधनको मर्मत गर्न नसकिएको र अर्को सवारी साधन नभएकाले पनि आवश्यक परेको समयमा अस्पताल पठाउन समस्या हुने गरेको उहाँको भनाइ छ ।

कारागारमा स्वास्थ्यकर्मी नहुँदा दिनहुँ समस्या भएको कारागारका चौकीदार प्रेमवाला राईले बताउनु भयो । ‘कारागार आफ्नो सवारी छैन, बिरामी भएको अवस्थामा तत्काल अस्पताल लान सकिएको छैन ।’ राईले भन्नुभयो ।

आवश्यक परेको १ सय २५ जनाको क्षमता रहेको कारागारमा अहिले २ सय ११ कैैदी र ६३ थुनुवा गरी २ सय ७५ जना छन् । जसमा महिला २२ जना छन् । ४ वर्षका एक आश्रित बालक पनि छन् । यस्तै ९ जना विदेशी कैदी र एक थुनुवा छन् ।

 

अन्य

भिडियो