INSEC Online

📅 २०८३ जेष्ठ २१

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन, सेवाग्राही मर्कामा

हिमा गाउँपालिकाको कालिकाखेतुस्थित प्राथमिक स्वास्थ्य केन्द्र दुई वर्षदेखि चिकित्सक विहीन अवस्थामा रहेको छ ।

०७४ सालदेखि चिकित्सक रत्नविर सुनार अध्ययन विदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन भएको हो । तीन शैयासम्म अस्पताल सञ्चालन गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा अहेव अनमीले नै उपचार गर्ने गरेका छन् ।

हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाका अनुसार कालिकाखेतुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक र सिनियर अहेव र स्टाफ नर्स रिक्त नै छ । जुम्लामा प्राथमिक स्वास्थ्य केन्द्र बाहेक विरामीलाई निशुल्क उपचार गर्ने सरकारी अस्पताल छैन । उहाँले भन्नुभयो यही केन्द्रमा तीन शैयाको अस्पताल सञ्चालनमा छ तर चिकित्सक नहँुदा उपचारमा समस्या हुने गरेको छ ।

भएको चिकित्सकलाई पनि अध्ययन विदाका तीन वर्षअघि पठाएको रहेछ, नयाँ चिकित्सक पनि अनाउदा अहेव र अनमीको भरमा अस्पताल सञ्चालनमा रहेको उहाँको भनाई छ । चिकित्सक पठाइदिन पटक पटक अनुरोध गर्दा पनि सम्वन्धित विभागले सुनुवाई नगरेको उहाँले बताउनुभयो ।

औषधिको अभाव नभए पनि दक्ष जनशक्ति नभएका कारण उपचार तथा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको स्थानीय मुनबहादुर बुढाले गुनासो गर्नुभयो ।

अहिले यहाँ चिसो मौसम छ । रुघाखोकी, ज्वरो, पखला, टाउका दुख्ने लगायतका दैनिक ४०÷५० विरामी उपचारका लागि आउने गरेको हिमा गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक मेनका देवकोटाले बताउनुभयो । यहाँको प्राथमिक स्वास्थ्य केन्द्र विगत लामो समयदेखि चिकित्सक विहीन भएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाउनु परेको उहाँको भनाई छ । जहाँ विरामीले औषधिदेखि चेकजाँचको शुल्क तिर्नपर्ने हुन्छ ।

हाल उक्त स्वास्थ्य केन्द्रमा हेल्थअसिस्टेन एक जना, अहेव दुई जना, अनमी तीन जना, ल्यावअसिस्टेन एक जना र कार्यालय सहयोगी दुई जना रहेको जनाएको छ ।

यसै प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरबृद्धि गरी १५ शैयाको अस्पताल बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । संघीय सरकारको ८० प्रतिशत र हिमा गाउँपालिकाको २० प्रतिशत लगानीमा अस्पताल बनाउन लागिएको हो । १५ शैयाको अस्पताल निर्माण लागि ५ हजार बर्गमिटर जग्गा आवश्यक पर्छ । यसका लागि निशुल्क जग्गा उपलव्धका लागि स्थानीय बासीसँग छलफल भइरहेको उनले बताउनुभयो ।

kalika khatu helthpost

अन्य

भिडियो