टहरामा जाडो थेग्न नसकेपछि भक्तपुरको विभिन्न ठाउँका अस्थायी शिविर र टहरामा बस्दै आएका भूकम्प पीडितहरू शिविर छाडेर भत्किएकै घरमा फर्किन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा भाडामा जग्गा लिएर टहरामा बस्दै आएका भूकम्प पीडितहरू शिविर र टहरामा जाडो थेग्न नसकेपछि शिविर छाड्दै भूकम्पले भत्किएकै घरमा फर्कन थालेका हुन् ।

पीडितहरू भत्किएका घरको माटो पन्छाएर पुरानै घरको इँटा, झ्याल ढोकाको प्रयोग गरेर छाप्रो बनाएर बस्न थालेका छन् । केही पीडितहरू भत्किएको घरलाई छोट्याएर एक तलामात्र राखेर जोखिम मोलेरै बस्न थालेका छन् । शिविर छाड्नेहरू मध्ये आर्थिक उपार्जनमा फर्किएकाहरूले कोठा भाडामा लिएर बस्न थालेकोमा बढ्दो कोठा भाडाको कारण समस्या भएको भक्तपुर नगरपालिका भेलुखेल बस्ने भुकम्प पीडित राधिका द्योलाले बताउनुभयो ।
भूकम्पको कारण सबैभन्दा बढी पीडितहरू बस्दै आएको जगाती स्थित महेश्वरी खेल मैदानको शिविर यसअघि नै पूर्ण रुपमा खाली छ । जाडो बढेपछि यो शिविरमा बस्दै आएका सबैले शिविर छाडेर भत्किएकै घरमा फर्किएका छन् । यहाँ ६० घर भुकम्प पीडितहरू बसोबास गर्दै आएकोमा हाल सबै भत्केकै घरमा फर्केका भक्तपुर नगरपालिका बुलाँचाका रामसुन्दर प्रजापतिले बताउनुभयो । भक्तपुर नगरपालिकाको खेल मैदानको रुपमा रहेको यो क्षेत्रमा भूकम्पपछि पीडितहरूको सेल्टरको रुपमा रहेको थियो । वर्षा र जाडोमा समस्या परेपछि केही आफ्नै घरमा फर्किए, केही भाडामा कोठा लिएर बस्न थाले । कोही नयाँ घर बनाएर फर्किएका, कोही जग्गा भाडामा लिएर आफ्नै टहरा हालेर छुट्टै ठाउँमा बस्न फर्किएका छन् ।
भक्तपुर नगरपालिका–८ का वडा अध्यक्ष महेन्द्र खायमलीले भूकम्प पीडितहरूको भग्नावशेष हटाउन नगरपालिकाले सहयोग गरेपनि आर्थिक अबस्था कमजोर भएका पीडितले घर बनाउन नसक्दा अझै पनि कतिपय टहरा मै बस्दै आएको बताउनुभयो ।
‘जाडो बढेपछि आर्थिक क्षमता हुनेहुनेहरू कोठा भाडामा बस्न थाले, हामी भत्किए कै घरको इँटा माटो मिलाएर सानो टहरा हालेर बस्यौ’ भक्तप्र नगरपालिका व्यासीको शिविरमा बस्दै आउनु भएका माईला श्रेष्ठले भन्नुभयो । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका सुन्तली बस्नेतले जस्ताको टहरामा बस्दा सासुससुरा र बालबालिका विरामी पर्न थालेपछि भूकम्पले भत्काएकै घरमा फर्किएको बताउनुभयो । ‘जाने ठाउँ छैन, शिविरमा जाडोले बस्न सकिन्न, मर्नु न बाँच्नुको अबस्था भो’ भक्तपुर नगरपालिका–१० कमलविनायक प्लानिङ्गको शिविरमा बस्दै आएका राजु सुवालले गुनासो गर्नुभयो ।
भत्किएको घर सामान पन्छाउनै ५० हजार सकिएको बताउँदै अब घर बनाउन नसक्ने भएकाले भत्किए कै घरको तल्लो तलामा बस्नु परेको उनको भनाई छ ।
भक्तपुर नगरपालिका भित्र अझै भग्नावशेष हटाउन बाँकी रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । भग्नावशेष पनि नहटेको र घर पनि बनाउन नसकेकाले भत्किए कै घरमा बस्नेहरू अझै रहेको उनले बताए । भक्तपुर नगरपालिकाले निःशुल्क हटाएको भग्नावशेषको व्यवस्थापन गरेको बताउदै गाडी जान नसक्ने र घरधनीले भग्नावशेष नहटाएको ठाउँमा अझै जोखिमपूर्ण रुपमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाडी लैजान नसकिने स्थानमा अझै ६० भन्दा बढीहरू भग्नाशेष घरहरू छन् ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई भक्तपुरका प्रमुख धु्रब गैडाले भक्तपुरमा अहिलेसम्म २८ हजार ४ सय ९८ भूकम्प पीडित भएकोमा २४ हजार ५ सय ५४ ले अनुदान सम्झौता गरेपनि प्रथम किस्ता लैजाने २४ हजार ५ सय ४१, दोश्रो किस्ता लैजाने ९ हजार ५ सय ६६ र तेश्रो किस्ता लैजाने ९ हजार १ सय २६ जना रहेको बताउनुभयो ।
जिल्लामा अझै १९ हजार ३ सय ७३ जनाले घर बनाउन बाँकी रहेको बताउँदै त्यसमध्ये भक्तपुर नगरपालिकामा भग्नावशेष हटाउनै बाँकी रहेको र विवाद धेरै भएको बताउनुभयो । जिल्लामा घर नबनाएकाहरू मध्ये करिब ९ सय घर परिवार अझै पनि जस्ताको टहरामा बसेको पाईएको बताउदै उहाँले त्यसमध्ये पनि करिब ४ सय घर परिवार जोखिम मोलेर भत्किए कै घरलाई मर्मत गरेको बसेको पाईएको बताउनुभयो ।