४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोप सार्वजनकि भएपछि सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी ४९ वर्षीय सौरभ राणाले माघ १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्म समर्पण गरेका छन् ।
आफूलाई आरोप लागेको र अनुसन्धानका लागि सहयोग पुग्ने गरी आफूलाई प्रहरीमा आत्म समर्पण गरेको आरोपित राणाले बताउनुभयो ।
झापाकी एक महिलाले एसएसपी राणा विरूद्ध आफूलाई यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी माघ १७ गते उजुरी दिएपछि प्रहरीले राणालाई गिरफ्तार गर्ने तयारी गरेको थियो । तर,आरोपित स्वयमले प्रहरीमा आत्म समर्पण गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आरोपितलाई राणा गिरफ्तार गर्न माघ १९ गते सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो । पोखरेलले पक्राउ पुर्जी लिएर गिरफ्तार गर्न जानु अगाडी नै राणा प्रहरीमा आत्म समर्पण गर्न आईपुगेको बताउनुभयो ।
आरोपितले ०७६ साउन २५ गते इटहरीस्थित एक होटलमा यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
पीडितले आरोपित विरूद्ध माघ १७ गते हुलाक मार्फत् जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपछि कानूनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा माघ १७ गते गरिएको एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो ।