नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सल्यान जिल्ला कुमाख गाउँपालिका–३ का ३९ वर्षीय बालकृष्ण शर्मा र दाङ जिल्ला तुलसीपुर उपमनपा–८ कटकुइयाका ३९ वर्षीय प्रदिपबहादुर वलीलाई प्रहरीले माघ २१ गते पुनः गिरफ्तार गरेको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले माघ २१ गते रिहा गर्ने आदेश दिए लगत्तै प्रहरीले अदालतको गेट बाहिरबाट गिरफ्तार गरेको हो ।
प्रदिपका भाई डिल्लीबहादुर वलीले माघ ११ गते दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दे न्यायाधीशद्वय केशवराज जोशी र नारायण प्रसाद पोखरेलको इजलासले रिहा गर्ने आदेश जारी गरेको थियो ।
राज्य विरूद्धको अपराधको आरोपमा असोज ३० गते दाङबाट गिरफ्तार गरिएका आरोपितद्वयलाई जिल्ला अदालत दाङले जनही १५ हजार धरौटी रिहा गरेको थियो । धरौटी बुझाएर माघ ७ गते रिहा भएका आरोपितद्वयलाई अदालत परिसरबाट गिफ्तार गरेको थियो ।