मार्मा गाउँपालिका– ३ दुनी र डिलाशैनी गाउँपालिका– १ को सीमा क्षेत्रमा बसोबास गर्दै आएका ८४ घरधुरी परिवार वर्षौदेखि शुद्ध पिउने पानीबाट वन्चित हुँदै आएका छन् ।
यहाँ बसोबास गर्ने ८४ घरपरिवार विगत लामो समयदेखि कुवा र नालाको फोहोर पानी पिउन बाध्य रहेका छन् ।
डाडामा वस्ती रहेको तर वस्तीमाथि पानीको मुहान नहुँदा यहाँका स्थानीयले अहिले पनि नाला, घरको छतबाट आएको पानी जम्मा गरेर र खाल्डो नाला बनाएर पानी पिउनु पर्ने बाध्यता छ । मार्मा गाउँपालिकाको दुनीमा १७ घरधुरीको बसोबास छ भने डिलाशैनीको दुनीमा ६७ घरधुरी बसोबास गर्दै आएका छन् ।
१० वर्ष अघि गरिबीनिवारण कोषले सञ्चालन गरेको खानेपानी योजना अधुरै रहेका कारण आफूहरुले दैनिक एक घण्टा हिडेर खानेपानी बोक्नु पर्ने बाध्यता रहेको स्थानीय मंगलसिह धामीले दुखेसो पोख्नु भयो ।
धारामा पानी नियमित नआउने गरेका कारण खाल्डाखुल्डी र न्वालो बनाएर पानी जम्मा गरेर खानु पर्ने बाध्यता रहेको स्थानीय ४५ वर्षीया समुली धामीले बताउनु भयो ।
उहाँले भन्नु भयो –‘पानीको लागि हरेक घरमा दर्जनौ ठुला पलाष्टिकका जर्किन राखिएका छन् । घरको एक जनाको ड्युटी पानी बोक्ने कार्यमै बित्छ ।’
स्थानीय मंगल धामीले नुहाउन, कपडा धुन, गाई भैँसीलाई खुवाउनको लागि पानी बोक्नैमै दैनिकी बित्ने दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो –‘खाल्डाखुल्डी र कुवाको पानी खान योग्य छैन् । धेरै दुषित छ भनेर यहाँका नागरिकहरूलाई जानकारी नभएको हैन् । तर,नजिक पानी नै नभएपछि के खानु ? भगवान भरोसामा अहिलेसम्म ठुलो रोग लागेको छैन् ।’
७० वर्षीया मैना धामीले आफ्नो पुरै जिवन डोकामा पानीको जर्किन बोकेरै बितेको गुनासो गर्नु भयो ।
२९ वर्षसम्म विद्यार्थीले पानी पाएनन्
मार्मा गाउँपालिका –३ दुनीस्थित भुवनेश्वरी आधारभूत विद्यालयका विद्यार्थी शिक्षकले २९ वर्षदेखि विद्यालयमा खानेपानीको धारा देखेका छैनन् । गाउँवस्तीमै खानेपानी नभएपछि विद्यालयमा समेत खानेपानी नपुगेको हो ।
यहाँका विद्यार्थी शिक्षक नै हात हातमा पानीको बोतल बोकेर विद्यालय पुग्नु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र जोशीले जानकारी दिनु भयो । २०४७ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म पढाई हुने गरेको छ ।
यो विद्यालयमा मार्मा गाउँपालिकाको दुनीका २० प्रतिशत र डिलाशैनी गाउँपालिका दुनीका ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थी शिक्षक सबैले आआफ्नो लागि पानी बोकेर विद्यालय आउने गरेको र विद्यालयमा निर्माण गरिएको शौचालय कहिल्यै प्रयोग नगरेको शिक्षक धर्मानन्द भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘ पिउनको लागि पानी छैन् । शौचालयमा के लगेर जाने ।’
कक्षा १देखि कक्षा ५ सम्म सञ्चालनमा रहेको भुवनेश्वर आधारभुत विद्यालयमा ५७ जना छात्रछात्राहरु अध्ययनरत रहेका छन भने दुई जना स्थानीय,एक जना गाउँपालिकाबाट खटाएका र एक जना शिशु काक्षा सञ्चालनका लागि शिक्षक राखिएका छन् ।
नेपाल सरकार, फिनल्याण्ड युरोपियन सरकार, मार्मा गाउँपालिका, डिलाशैनी गाउँपालिका र ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाले अहिले पानीको अभाव झेलेको मार्मा गाउँपालिका ३ दुनी र डिलाशैनी गाउँपालिकाको दुनीमा खानेपानी योजना निर्माण शुरु गरेको छ । अहिले हरेक घरधुरीमा खानेपानी पुर्याउने गरि निर्माण कार्य शुरु गरिएको छ ।
बैतडी डिलाशैनीको मज्यौरी मूहानको साढे ९ किलोमिटर दुरीबाट दुनीको मेन ट्यांकीमा पानी खसाल्ने गरी काम अघि बढेको मार्मा गाउँपालिका जलस्रोत अधिकृत रमेशचन्द्र अवस्थीले बताउनु भयो ।
यस्तै मेन ट्यांकीबाट शाखा लाइन १८ किलोमिटर दुरीमा छ । भौगोलिक विकटता र नजिक पानीको मुहान नहुँदा समस्या भएको छ । दुवै वस्तीलाई एउटै मूहानको पानी वितरण गर्दैछौ उहाँले भन्नुभयो ।
अहिले उपभोक्ताहरु पनि गाउँमा खानेपानी पुग्ने भएपछि थोरै खुसी देखिएको निर्माण समितिका अध्यक्ष मंगलसिह धामीले बताउनु भयो ।
उहाँले भन्नु भयो –‘वर्षौदेखिको खानेपानी समस्या समाधान हुने आशामा छौ ।’
अहिलेसम्म फोहोर पानीकै प्रयोग गरियो, स्थानीयबासी पिन्कु ठगुन्नाले भन्नुभयो, अहिलेसम्म सफा खानेपानी पाइएन, यो वर्ष भित्र पानी पुग्ने आशामा छौ । कहिले गाउँमा खानेपानी पुग्ला सोचेका थियौ, तर अहिले भइरहेको कामले यहि वर्ष खानेपानी घर घरमा पुग्ने आशा गरेका छौ ।
खानेपानीको पहुँच नपुगेको अधिकांश वस्तीमा यो वर्ष खानेपानी पहुँच पुर्याउने उद्देश्यले काम भइरहेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताउनु भयो ।
