नेपाल पत्रकार महासंघ दाङका सह सचिव एवं गोरखापत्र दैनिकका समाचारदाता तुलसीपुर उपमनपा–१९ का ३० वर्षीय गोकर्ण पौडेललाई कुटपिट गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का २५ वर्षीय सागर सुनारी मगर र ३० वर्षीय मोहन भण्डारीलाई माघ १९ गते गिरफ्तार गरेको छ ।
आरोपितद्वयले माघ १८ गते कुटपिट गरेको भन्दै पत्रकार पौडेलले इलाका प्रहरी कार्यालय हापुरेमा माघ १९ गते उजुरी दिएका थिए ।
रेडियो हापुरेबाट काम सकेर कोठामा जाने क्रममा हापुरे बजारमा एक्कासी आएर गालीगलौज गर्दै गाला र कानमा हानेको पौडेलले बताउनु भयो । इलाका प्रहरी कार्यालयका सई देवराज वलीले आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनु भयो । पौडेलको स्थानीय मेडिकलमा माघ १९ गते उपचार गरिएको प्रहरीले जनायो ।
घटनाका बारेमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन र सचिव भुपेन्द्र वलीले माघ १९ गते विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति मार्फत महासंघका सह सचिवमाथि भएको दुर्व्यवहारको भत्र्सना गर्दै दोषी माथि कारवाहीको माग गर्नु भएको छ ।