रामगोपालपुर नपा–७ स्थित जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेन्च डेक्स जस्ता फर्निचरको अभावमा पछिल्लो एक महिनादेखि तराइमा चलेको शीतलहरको कहर र माघ महिनाको चिसोमा पनि भुइँमै बसेर पढ्न बाध्य छन् ।

३ सय ९० जना विद्यार्थीका लागि विद्यालयमा चार ओटा मात्र डेक्स र बेन्च रहेको छ । सोही कारण विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।
यो विद्यालय त एउटा उदाहरण मात्र हो, यस नगरपालिकाभित्रका दर्जनौं आधारभूत विद्यालयको अवस्था यस्तै दयनीय रहेको छ । विद्यालयमा विद्यार्थीहरुलाई सरल तरिकाले अध्ययन गर्नको लागि बेन्च डेक्सको अभाव त छँदै छ अर्कोतर्फ अध्यापन गराउने शिक्षकको समेत अभाव रहेको छ ।
बिहान विद्यालय खुल्ने समयमा विद्यार्थी र शिक्षक आइ पुग्दैनन् । कतिपय विद्यालयको परिसरमा स्थानीयले बाख्रा बाँध्ने थलो बनाएका छन् । जनजागृति विद्यालयमा भर्ना भएका विद्यार्थीको सङ्ख्या ठूलो भएपनि दैनिक हाजिर हुने न्यून छन् । विद्यालयमा मुस्किलले सय जना विद्यार्थी दैनिक रुपमा उपस्थित हुने गर्दछन् । विद्यालयमा शौचालय नहुँदा विद्यार्थी र शिक्षक शौचका लागि आफ्नै घरमा पुग्नुपर्ने बाध्यता छ । घर गएपछि शिक्षक वा विद्यार्थी पुनः विद्यालय फर्कंदैनन् ।

सो भेगका अधिकांश विद्यालयमा शिक्षक १२ बजे पुग्ने र २ बजे फर्किने गरेको स्थानीय रामनन्दन साहले बताउनु भयो । समुदाय र स्थानीय सरकारको चासो नभएकाले विद्यालयलाई शिक्षकले तलब पकाउने ठाउँ मात्रै बनाएको साहको कथन रहेको छ ।
स्थानीय धर्मेन्द यादवले विद्यालयको सुधारमा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक र स्थानीय सरकार कसैले पनि चासो नदिएको बताउनु भयो । उहाँले भन्नु भयो,–‘सराेकारवाला निकाय र अभिभावक दुबैले चासाे नदिएकाे कारणा आफ्नो बच्चा कति कक्षामा पढ्छन् भन्नेसम्म पनि जानकारी अभिभावकलाई छैन ।’
यादवको भनाईलाई विद्यार्थीका अभिभावक सरिता साहसँग सोध्दा पुष्टी भए जस्तै भयो, उहाँले आफ्ना दुई सन्तान स्कुल जाने गरेको भएपनि कति कक्षामा पढ्ने थाहा नभएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक सञ्जय कुमार मण्डलले स्थानीय सरकारले बजेट नदिएपछि विद्यालयको अवस्था सुधार्न नसकिएको आरोप लगाउनु भयो । कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा भवन अभावका कारण कक्षा चार र पाँचका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँदै आएको उहाँले जानकारी दिनु भयो ।
प्रधानाध्यापक मण्डलले विद्यालयको अन्य आयस्रोत नभएकाले फर्निचरको पनि व्यवस्था गर्न नसकिएको बताउनु भयो । विद्यालयमा स्थायी दरबन्दी भएका शिक्षक प्रधानाध्यापक मण्डल मात्रै हुनुहुन्छ । अन्य तीन जना शिक्षक राहत कोटामा राखिएको छ । विद्यालयमा शिक्षकको अभाव रहेको प्रधानाध्यापक मण्डलले बताउनु भयो ।

विद्यालयको परिसरमा बाख्रा बाँध्ने थलो बनाउँदा समेत व्यवस्थापन समिति तथा प्रधानाध्यापक टुलुटुलु हेरिरहेका छन् । स्थानीयले दैनिक कुखुरा र बाख्रा विद्यालयको चौरमा खुल्ला छोड्ने गरेका छन्, जसले पढ्ने वातावरण पनि नभएको प्रष्ट देखिन्छ ।
विद्यालयको व्यवस्थापनमा काम गरिरहेको भएपनि भनेजस्तो सुधार गर्न नसकेको जनजागृति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीचन महतोले बताउनु भयो । विद्यालयमा कार्यालय कोठा, कुर्सी, टेबल, दराज केही नहुँदा विद्यालयका दस्तावेजसमेत सुरक्षित छैनन् । नगरपालिकाले आश्वासन मात्रै दिने गरेकाले सुधार गर्न नसकिएको अध्यक्ष महतोले बताउनु भयो ।
नगरभित्र १८ ओटा सामुदायिक विद्यालय छन् । नगरले चालू आर्थिक वर्षमा शिक्षामा ५० लाख बजेट छुट्याएको छ । नगर शिक्षा शाखा प्रमुख देवनारायण सिंहले विद्यालयहरूको भौतिक अवस्था अनुगमन र सुधार गर्न बजेट र कर्मचारी दुबै अभाव भएको बताउनु भयो ।
नगर प्रमुख अशोक मण्डलले नगरभित्रका विद्यालयलाई नमुना बनाउने योजना भए पनि काम अघि बढ्न नसकेको स्वीकार गर्नु भयो । प्रमुख मण्डलले अधिकांश विद्यालय व्यवस्थापन समितिमा विवाद रहेकाले काम नभएको बताउनु भयो । समितिले आफ्नो मान्छेलाई शिक्षक बनाउन मात्रै काम गरेकाले विद्यालयमा अरु सुधार हुन नसकेको मण्डलले बताउनु भयो ।
प्रमुख मण्डलले भन्नु भयो,–‘समिति, अभिभावक र स्थानीयले विद्यालय सुधारको जिम्मेवारी नलिएसम्म विद्यालयमा लगानी गर्न सकिँदैन ।’
नगरभित्रका जनता आधारभूत, सोनामाई, युवा प्रावि लगायत धेरैजसो विद्यालयको भौतिक पूर्वाधारको अवस्था कमजोर छ । विद्यालय केवल विद्यार्थीलाई भुलाउने र तलब पकाउने थलो मात्र बनेको छ ।
