विराटनगर महानगरपालिका–८ बलुवाहीकी १० वर्षीया बालिका रुपमति दासको बलात्कारपछि हत्या गरेको कसुर ठहर गर्दे अदालतले माघ १६ गते जन्मकैद सजायको फैसला गरेको छ ।
न्यायधीश तेजबहादुर खड्काको इजलासले कसुर ठहर गर्दैै विराटनगर महानगरपालिका– ८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई जन्म कैद सजायको फैसला सुनाएको हो । अदालतको सोही फैसलाले ५० हजार रुपियाँ जरिबाना कसुरदारबाट भराउन आदेश दिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा ४१ र दफा १७७ (२) अनुसार पुर्पक्षका लागि थुनामा रहेका महतो र अन्सारीलाई अदालतले आजीवन कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताउनु भयो ।
रुपमतिको ०७५ माघ १२ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आरोपिद्वयलाई माघ १३ गते गिरफ्तार गरेको थियो ।
माघ १२ गते साँझ छिमेकीकोमा टेलिभिजन हेर्न भनी गएकी रुपमतिको शव माघ १३ गते बिहान सिङ्घिया खोलामा फेला परेको थियो ।
शवको पोष्टमार्टम माघ १३ गते कोशी अञ्चल अस्पतालमा गरिएको थियो ।