INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई हजार ५९ जना द्वन्द्वपीडितले अझै राहत पाएनन्

सशस्त्र द्वन्द्वको समयमा माओवादी र राज्य पक्षबाट पीडित भएका जिल्लाका २ हजार ५९ जना द्वन्द्व पीडितले हालसम्म राहत पाउन सकेका छैनन् ।

घाइते तथा अङ्गभङ्ग भएका २ हजार ३ सय १० मध्ये ३३ जनालाई मात्र साविक स्थानीय शान्ति समितिमार्फत राहत र जीवन निर्वाह भत्ता दिइएको थियो ।

जिल्लामा द्वन्द्वको क्रममा घाइते र अपाङ्ग बनेकाले हालसम्म पनि उपचार र राहत पाउन नसकेको गुनासो गरेका छन् । दार्मा गाउँपालिका–३ भल्चौरका ४६ वर्षीय मान बहादुर विक २०६१ चैत २४ गते रुकुमको खारामा तत्कालीन माओवादी र नेपाली सेनाबीच भिडन्त हुँदा गम्भीर घाइते भएका थिए । भिडन्तका क्रममा उनका शरीरमा लागेका बमका सात ओटा छर्रा अझै पनि शरीरमै छन् ।
१६ वर्षको उमेरमा भूमिगत भएको बताउँदै उहाँले कम्पनी कमाण्डरसम्म भएपनि समायोजनमा अयोग्य ठहरिएपछि विश्राम लिनु परेको जानकारी दिनुभयो । अहिले आर्थिक अवस्था कमजोर भएकाले हातमा तीन, खुट्टामा तीन र छातीमा एउटा बमको छर्रा बोक्न बाध्य भएको उहाँको भनाइ छ ।

०५९ जेठ २९ गते छत्रेश्वरी गाउँपालिका–१ स्थित गुराँसे भिडन्तमा बमको छर्रा टाउकोमा लागेपछि ४६ वर्षीया नन्दकली कवर घाइते बनेको बताउनुहुन्छ । टाउकोमा लागेको तीन छर्रामध्ये दुई ओटा फालिए पनि एउटा अझैं बाँकी छ  उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर हुँदा आँखादेखि माथिको भागमा रहेको छर्रा त्यत्तिकै छ । छर्रा फाल्न नसक्दा शारीरिक अवस्था दिनदिनै कमजोर बन्दै गएको छ ।’

साविकको स्थानीय शान्ति समितिका अनुसार द्वन्द्वकालमा जिल्लाभरी २ हजार ३ सय १० जना घाइते भएका थिए ।

द्वन्द्वको समयमा जिल्लामा ३ सय ७२ जनाको मृत्यु भएको तथ्याङ्क स्थानीय शान्ती समितिमा भएपनि स्थानीय शान्ति समिति नै खारेज भएपछि अहिले द्वन्द्वपीडितको समस्या जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले द्वन्द्वको समयमा घाइते तथा अङ्गभङ्ग भएकामध्ये ३३ जनाले अहिले जीवन निर्वाह भत्ता पाउँदै आएको जानकारी दिनुभयो । ‘यस वर्ष छुटेकाहरूको पुनरावलोकन गर्न भन्दै गृह मन्त्रालयले सूचना जारी गरेको थियो, ६८ जनाको निवेदन प¥यो’ उहाँले भन्नुभयो, ‘मन्त्रालयमा कागजात पठाईसकिएको छ, मन्त्रालयकै निर्देशनअनुसार उहाँहरूलाई राहत तथा जीवन निर्वाहभत्ता वितरण गरिनेछ ।’

इन्सेकद्वारा प्रकाशित द्वन्द्वपीडित पाश्र्वचित्रका अनुसार सल्यान जिल्लामा सशस्त्र द्वन्द्वको समयमा २ सय ३२ जना हत्या, २७ जना वेपत्ता र २१ जना अङ्गभङ्ग भएका थिए ।

SofK;gM hgo'4sf ;dodf 3fO{t] ePsf l;dvs{sf anaxfb'/ cf]nL . tl:j/M ljKnj dxh{g÷sflGtk'/

 

अन्य

भिडियो