तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाइले आर्थिक अभावले स्तन क्यान्सरको उपचार हुन नसकेको गुनासो गर्नु भएको छ ।
विगत तीन वर्षदेखि स्तन क्यान्सरको पीडाले छटपटिएकी पुम्फाको आर्थिक अभावले अहिलेसम्म उपचार हुन नससेको हो । तीन वर्ष पहिले स्तनमा सानो घाउ थियो, त्यही बेला साहेत उपचार भएको भए आज यो पीडा खेप्नु पर्ने थिएन उहाँले भन्नुभयो । वृद्धा पुम्फाले आँसु झार्दै भन्नुभयो, घरमा कोही पनि पढेलेखेका नहुँदा आफ्नो समस्या प्रति कसैले वास्ता गरेनन् ।
सानो घाउ ठुलो हुँदै स्तन पुरै संक्रमण भएर अन्तिममा स्तन नै विग्रिसकेको रहेछ । पति खड्के दमाईको मृत्यु भएको पनि अहिले २० वर्ष भयो । उहाँको पीडामा मलम लगाउन अघिपछि कोही पनि छैनन् । घरमा रहेका तीन जना नातिको दयनीय अबस्थाले उपचार सम्भव हुन नसकेको उहाँले बताउनुभयो । घरमा ६ महिना खाना पनि धौधौ पुग्छ । पुम्फाले भन्नुभयो, अब मर्नुको विकल्प छैन् ।
बाच्ने रहर हुँदा पनि आर्थिक अभावले म गल्दै छु । सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताले औषधि किन्न पनि पुग्दैन उहाँले भन्नुभयो दुखाईले नछटपटिएको कुनै दिनरात छैन् । केही आफन्तले उपचार गर्छाँै भनेर भारतका विभिन्न अस्पताल पनि लगेका थिए । तर शल्यक्रियाका लागि पैसा महङ्गो लाग्ने थाहा पाएपछि उपचार हुन सकेन् उहाँले भन्नुभयो ।
सधै औषधिको सेवनले कपाल सबै झरिसक्यो । त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन उपचारका लागि जादा यहाँ उपचार सम्भव नभहेको अस्पतालले जानकारी दिएको उहाँले बताउनु भयो । पुम्फाका जेठा नाति कैलाश दमाईले भन्नुभयो, हजुरआमाको उपचार भारतको लखनऊ हुन्छ भनेका छन् । त्यसको लागि करिब ३÷४ लाख रुपियाँ लाग्छ । केही रकम आफुले जुटाएपछि केही प्रतिष्ठानले सहयोग गर्ने भनेको छ । तर घरको सबै धन सम्पत्ती बेच्दा पनि ३÷४ लाख रुपियाँ पुग्ने छैन् । कसरी हजुर आमाको उपचार गरौ, उहाँले गुनासो गर्नु भयो ।
उपचार खर्च जुट्छ की भन्ने आशा गरेकी पुम्फाको पीडामा मलम लगाउन आम सरोकारावाला सवैसँग उहाँले आग्रह गर्नु भएको छ । आवश्यक सहयोग समर्थनका लागि तातोपानी गाउँपालिका–२ जर्मीगाँउका स्थानीयहरुनै बेखबर छन् । आफ्ना आफन्तलेनै उपचारका लागि चासो नदिएपछि आफुले सञ्चार माध्यमको सहारा लिएको पुम्फाले बताउनुभयो । घाउमा दिनदिनै संक्रमण बढ्दै गएकाले क्यान्सरले ज्यानै लिने खतरा बढेको छ ।