१३ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका– ८ अशोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का प्रधानाध्यापक(मोलवी) ३३ वर्षीय अमिरुद्धिन मियाँ विरूद्ध माघ ९ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।
आरोपितले माघ ७ र ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध माघ ९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।
आरोपितले बालिकाद्धयलाई कार्यकक्षमा बोलाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीमा उजुरी पर्ने बित्तिकै आरोपित फरार भएको र खोजी थालिएको डिएसपी थापाले बताउनुभयो ।
वि.स.०६४ मा स्थापना भएको मदरसामा ६ वर्षदेखि १५ वर्ष सम्मका २० जना बालबालिका अध्ययनरत छन् ।
पीडित बालिकाद्धयको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ ९ गते गरिएको छ ।