INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित सिद्धबाबालाई थुनामा राख्न उच्च अदालत विराटनगरको आदेश

२९ वर्षीया महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीबाट धरौटीमा रिहा भएका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत विराटनगरले माघ ९ गते आदेश दिएको छ ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते तीन लाख रूपियाँ धरौटी लिएर छाड्न दिएको आदेश बदर गर्दै उच्चले जवरजस्ती करणी मुद्दामा थुनामा राख्न आदेश दिएको हो ।

उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश बदर गरिदिएको हो । उक्त आदेश विरूद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । आरोपित सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पुर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।

उच्च अदालतबाट जिल्लाको आदेश बदर गरी सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिनुभयो । उच्चको आदेशपछि जिल्लाले दिएको आदेश बदर भएको उहाँले बताउनुभयो ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मङ्सिर १६ गते गिरफ्तार गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ८ गते हुलाकमार्फत् आएको जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मङ्सिर १२ गतेबाट विराटनगर अस्पताल एवम् विराट नर्सिङ होममा भर्ना भएका थिए ।

उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधिमा अस्पतालमै गुजारेपछि प्रहरी हिरासत बस्नु परेको थिएन ।

आफू विरूद्ध प्रहरीले उजुरी दर्ता गरेको थाहा पाएपछि छाती, मुुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै सिद्धबाबा अस्पताल भर्ना भएका थिए ।
प्रहरीले मङ्सिर १६ गते आईसीयूदेखि नै गिरफ्तार गरेर अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो । उनलाई अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार गरेका थिए ।

अस्पतालबाट पुस २० गते डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममै पुगेका थिए ।

 

अन्य

भिडियो