INSEC Online

📅 २०८३ जेष्ठ २१

सात महिनादेखि आमा सुरक्षा कोषको रकम आएन

लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सात महिनादेखि आमा सुरक्षा कोषको रकम आएको छैन । आमा सुरक्षा कोष अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई सरकारले दिने यातायात खर्च वापतको रकम आर्थिक वर्ष ०७६/७७ को सात महिना भई सक्दा पनि नआएको हो ।

दैनिक जसो सरदर १२ देखि १५ जना गर्भवती महिला सुत्केरी हुन आएपनि उनीहरूलाई यातायात खर्च वापतको रकम दिन नसकेको अस्पतालका रेकर्ड शाखाका प्रमुख बुदुर भगतले बताउनु भयो ।

चार, ६, आठ र नौं महिनामा नियमित चार पटक स्वास्थ्य परीक्षण गराई सुतकेरी हुने महिलाहरूलाई १ हजार ८ सय र सुत्केरी मात्र हुन आउने महिलाहरूलाई सरकारले दिँदै आएको १ हजार रकम अहिलेसम्म पनि अस्पतालमा नआएको शाखा प्रमुख भगतले बताउनु भयो । महिलाहरूलाई पछि आउनु होला अथवा फोन गरेर मात्र आउनु होला भनेर पठाउने गरेको पनि शाखा प्रमुख भगतले बताउनु भयो ।

शाखा प्रमुख भगतका अनुसार अस्पतालले पटक–पटक स्वास्थ्य सेवा विभाग, सामाजिक विकास मन्त्रालय तथा लहान नगरपालिकामा ताकेता गरेपछि नगरपालिकाले साउनदेखिको तथ्याङ्क माग गरेको छ । माघ महिनामा यातायात रकम आउने आशमा रहेको शाखा प्रमुख भगतले बताउनु भयो ।

लहान नपा–२१ की किरण चौधरीले माघ ७ गते अस्पतालमै सुत्केरी भए पनि यातायात रकम लिन तीन महिना पछि आउनु भनेको उनका पति सर्वेन्द्र चौधरीले बताउनु भयो । त्यसैगरी अस्पतालमै सुत्केरी हुनु भएकी सप्तरी जिल्ला सुरुङ्गा नपा–११ की श्रेजनाकुमारी चौधरी, लहान नपा–१२ की शान्तिदेवी साह लगायतका सेवाग्राहीहरूलाई तीन महिना पछि पैसा लिन आउनु भनेको श्रेजना चौधरीका पति शिवशङ्कर चौधरीले बताउनु भयो ।

यस आर्थिक वर्षको साउनमा ३ सय ४३ जना, भदौमा ३ सय १६ जना, असोजमा ३ सय २६ जना र कात्तिकमा २ सय ८३, मङ्सिरमा ३ सय १२ र पुस महिनामा २ सय ७४ जना गरी १ हजार ८ सय ५४ जना महिला अस्पतालमा सुत्केरी भएको र सबैको यातायात रकम बाँकी रहेको शाखा प्रमुख भगतले जानकारी दिनु भयो ।

अन्य

भिडियो