मिथिला नपा–५ बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई फलामको रडले कोखामा हानेर कुटपिट गर्दै टिपरले किचेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले चार जनालाई गिरफ्तार गरि पुस २६ गते साँझ सार्वजानिक गरेको छ ।

अवैध तरिकाले खोला उत्खनन्को विरोध गरेका महतोको हत्या गरेको आरोपमा मिथिला नपा–५ बस्ने चुरियामाई बालुवा प्रशोधन उद्योगका संचालक २७ वर्षीय विपिन कुमार महतो, महोत्तरी जिल्ला बर्दिवास नपा–९ बस्ने टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवास नपा–२ बस्ने अनटेस्ट लोडरका चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र मिथिला नपा–५ बस्ने २७ वर्षीय रोशन कुमार यादवलाई गिरफ्तार गरि सार्वजानिक गरेको हो ।
मिथिला नपा–५ स्थित औरही खोलामा अवैध तरिकाले चुरियामाई क्रसर प्रशोधन उद्योगले उत्खन्न गर्दै आएको थियो । ओमप्रकाश महतोले पटक–पटक अवैध बालुवा उत्खन्न नगर्न भन्दै रोक्दै आउनु भएको थियो । गिरफ्तार परेका आरोपितहरूले प्रहरीसमक्ष दिएको बयानमा अवैध उत्खन्न हुँदै आएको खबर पाएर पुस २५ गते बिहान ४:०० बजे छिमेकी २४ वर्षीय रोशन कुमार यादवसँग औरही खोला जानु भएको ओमप्रकाशलाई फलामको डण्डाले पेटको दाहिने कोखामा घोचेर कुटपिट गर्दै ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश कुमार बस्नेतले जानकारी दिनु भएको छ ।
‘पुस २६ गते जनकपुरस्थित प्रादेशिक अस्पतालमा ३ घण्टा लगाएर चार जना चिकित्सकको टोलीले शवको पोस्टमार्टम गरेको प्रहरीले जनाएको छ । पुस २६ गते साँझ ७:१० बजे शवको पोस्टमार्टम गरिएको हो । शवको एक्स–रे र सिटीस्क्यान गरिएको छ ।
पोस्टमार्टमपछि परिवारजनले शव बुझे लगतै जिल्ला प्रहरी कार्यालय धनुषाले घटनामा संलग्नहरूलाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरेको हो ।