रुन्टिगढी गाउँपालिका –१ रिठाबोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण पानी चुहिने भएपछि विद्यार्थीहरू कक्षा कोठाभित्रै छाता ओढेर पठन पाठन गर्न बाध्य भएका छन् । पुरानो भवन मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नु बाहेक अन्य बिकल्प छैन ।
पटक पटक स्थानीय सरकारसँग जस्तापाता माग गरेको भएपनि सहयोग नपाएको विद्यालयका प्रध्यानाध्यापक झक्कु वलीले बताउनु भयो । वडा कार्यालय र गाउँपालिकामा जस्ता पाताकालागि माग गरेको भएपनि सुनुवाइ नभएको प्रअ वलीले बताउनु भयो । उहाँका अनुसार पानी चुहिने समस्याले विद्यार्थीहरूले सास्ती व्यहोर्नु परेको छ साथै भवन नै भत्केला भन्ने चिन्ता रहेको छ । प्रअ वलीले विद्यालय भवनको भित्ता समेत चर्किएको अवस्थामा विद्यार्थीहरू त्रासपूर्ण वतावरणमा अध्ययन गरिरहेको बताउदै नयाँ भवन बनाउन आवस्यक रहेको बताउनु भयो ।
रुन्टिगढी गाउँपालिकाका शिक्षा प्रमुख कुलराज आचार्यले छानो चुहिने गरेको विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । भवनका लागि माग आएको तर छाना चुहिने विषयमा आफुलाई जानकारी नभएको आचार्यले बताउनु भयो । उहाँले उक्त समस्याको समाधान छिट्टै नै समाधान हुने बताउनु भयो ।