सम्सी गाउँपालिका अन्तर्गतको विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विगत आठ महिना देखि तलब नपाएको भन्दै पुस २३ गते देखि गाउँपलिका कार्यालयको अगाडि धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ सम्सी गाउँपालिका कार्य समितीको अगुवाइमा गरिएको धार्ना कार्यक्रममा गाउँपालिका भित्रका सम्पुर्ण शिक्षक शिक्षिका, बालबिकास र कार्यालय सहयोगीहरु धर्नामा बसेका छन् ।
‘गाउँपालिका कार्यालयले यस आर्थिक वर्षको पहिलो चौमासिक, दशै भत्ता र दोस्रो चौमासिक गरि आठ महिनाको तलब भत्ता दिएको छैन, बारम्बार तलब भत्ताको लागि गाउँपालिका प्रमुखलाई तकतदा गर्दा पनी केही नसुनेको कारण हामी जिल्ला प्रशासन कार्यालयमा समेत डेलिगेसन गएका थियौं तर अहिले सम्म तलब भत्ता निकासा नभएकोले हामी बाध्य भएर धर्नामा बस्नु परेको छ ।’– नेपाल शिक्षक महासंघ सम्सी गाउँपालिकाका अध्यक्ष राम बाबु यादवले बताउनु भयो । यसअघि गाँउपालिकाको कार्यालयले जिल्ला प्रशासन कार्यालयमा गई मङ्सिर महिनाभित्र एकमुष्ट तलब उपलब्ध गराउने सहमति भएपनि सोको कुनै सुनवाई हुन नसकेको यादवले जानकारी दिनुभएको छ ।
पुस २७ गतेदेखि सम्पूर्ण शिक्षालय बन्द गरि धर्नामा बस्ने शिक्षकहरुले बताएका छन् । चार मावि, तीन प्रावि र तीन मदर्शा रहेको सम्सी गाँउपालिकामा ६६ जना शिक्षकहरु कार्यरत रहेका छन् ।
विगत ६ महिनाको घरभाडा बाँकी रहेको भन्दै घर धनी राम भरत रायले सम्सी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्नु भएको छ । गाउँपालिका कार्यालयले गर्नु पर्ने घरभाडाको सम्झौता र बाँकी रहेको घरभाडा नदिए सम्म तालाबन्दी यथावत रहने पनि उहाँले जानकारी दिनु भयो ।