INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउपडी कुप्रथा विरूद्ध अछाममा अभियान शुरू

सामाजिक कुरीतिका रूपमा रहेको छाउपडी कुप्रथालाई उन्मूलन गर्न अछाममा छाउ गोठ भत्काउने अभियान शुरू गरिएको छ ।

स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, प्रहरी, महिला तथा बाल समूह र स्थानीयको सयुक्त सक्रियतामा पुस १५ गतेदेखि हालसम्म १३ सय १० ओटा छाउ गोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो ।

साँफेबगर नगरपालिकामा ३ सय २५ ओटा ,तुर्माखाँद गाउँपालिकामा ३ सय ११ ओटा ढकारी गाउँपालिकामा २ सय ४६ ओटा, पञ्चदेवल विनायक नगरपालिकामा १ सय १४ ओटा, मेल्लेख गाउँपालिकामा १ सय १५ ओटा, चौरपाटी गाउँपालिकामा ८३ ओटा, रामारोशन गाउँपालिकामा ७९ ओटा र कमलबजार नगरपालिकामा ३२ ओटा छाउ गोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।

छाउगोठ भत्काउने कार्यमा सहज होस भन्नका लागि प्रहरी समेत खटाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीले बताउनु भयो ।

केही स्थानमा छाउगोठ भत्काउन धामी, महिला र किशोरीहरू समेत सक्रिय रहेका छन् । मष्टा देवताका धामी समेत रहेका साँफेबगर नगरपालिका–२ का नवराज नेपाली समेत छाउ गोठ भत्काउने कार्यमा सक्रिय भएका छन ।

तुर्माखाँद गाउँपालिका–४ का वडा अध्यक्ष कविराज वयकले वडा तहमा निर्णय गरेर छाउगोठ भत्काउन शुरू गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो –“जिल्लाका हरेक टोलमा अहिले छाउगोठ भत्काउने क्रम चलिरहेको छ । स्थानीयहरूको उत्साहजनक सहभागिता रहेकोले केही दिनमै जिल्लाका सबै छाउ गोठ भत्किन्छन् । ”

गृह मन्त्रालयले पुस ९ गते सुदूर र मध्यपश्चिमका १९ जिल्लामा छाउगोठ भत्काउन, जनचेतनामूलक गतिबिधि सञ्चालन गर्न र प्रचलित कानुन कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पत्र पठाएपछि जिल्ला प्रशासन कार्यालय,अछाममा पुस १५ गते बसेको सर्वपक्षिय बैठकले छाउगोठको तथ्याङ्क संकलन गर्ने, भत्काउने र छाउपडी कुरीति कायम राख्नेहरूलाई कानूनी कारर्वाही गर्ने निर्णय गरेको थियो ।

तत्कालिन महिला तथा बालबालिका कार्यालय,अछामले ०७३ सालमा सङ्कलन गरेको तथ्याङ्क अनुसार महिनावारी हुने उमेका ५६ हजार ७ सय ९१ महिला मध्ये ३४ हजार २९ जना महिला तथा किशोरीहरू छाउगोठमा बस्ने गरेका छन् ।

सन् २००७ यता १४ जना महिला तथा किशोरीको छाउगोठमा मृत्यु भएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार छाउ गोठमा बस्ने र बस्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार जरिवानाको व्यवस्था रहेको छ ।

photo20200110achham1 (1)

photo20200110achham1 (3)

photo20200110achham1 (4)

 

photo20200110achham1 (7)

 

अन्य

भिडियो