मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ३४ वर्षीया कविता थापाको रहस्यमय हत्या भएको घटनामा न्यायको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस २२ ज्ञापनपत्र बुझाएको छ ।
मिक्वाखोला गाँउपालिका–२ स्थित अधेरी आधारभूत विद्यालय नजिकको सडकमा पुस ५ गते थापाको शव फेला परेको थियो । घटना भएको १८ दिनसम्म प्रहरीले अनुसन्धान नगरेको र घटनामा संलग्नको खोजीमा चासो नदिएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पीडित पक्षले बुझाएको ज्ञापनपत्र बुझ्दै पीडितलाई न्याय दिलाउन आफूले पहल गर्ने बताउनुभयो । मिक्वाखोला गाँउपालिका–२ का वडाबासीको हस्ताक्षर रहेको ज्ञापनपत्रमा एकसाता भित्र घटनाको वास्तविक अनुसन्धान गरी दोषीलाई सार्वजनिक गर्न माग गरिएको छ ।
बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको वडाबासीको भनाइ छ ।
शवको पोष्टमार्टम पुस ६ गते जिल्ला अस्पतालमा गरिएको र घटनाका विषयमा सुक्ष्म ढङ्गले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।