INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले उजुरी लिन नमानेको पीडितको गुनासो

अपहरण गरी बन्धक बनाई कुटपिट गरेको घटना एक महिना बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । दैलेख जिल्ला नारायण नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बस्दै आएका २२ वर्षीय आशिक रावललाई मङ्सिर १९ गते कोठाबाट कुटपिट गर्दै अपहरण गरी ५ घण्टासम्म बन्धक बनाएको भन्दै पीडित न्याय माग्दै प्रहरी समक्ष पुगे पनि प्रहरीले उजुरी नै दर्ता गर्न मानेको छैन ।

पीडित रावलले भोजपुर जिल्ला अरुण गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्दै आएका आफूलाई ज्योतिष बताउने २७ वर्षीय अर्जुन क्षेत्रीले अपहरण गरेको भन्दै मङ्सिर २० गते कीर्तिपुर प्रहरी वृत्तमा उजुरी दर्ता गराउन खोज्दा प्रहरीले माथिको आदेश भन्दै उजुरी दर्ता नगरेको जानकारी दिनुभयो ।

photo20200106kathmandu

उजुरी दिएको ११ दिनसम्म पनि कीर्तिपुर प्रहरीले दर्ता गर्न नमानेपछि उहाँ न्याय माग्न महानगरीय प्रहरी परिसर टेकु पुगेको बताउनुभयो । काठमाडौँ परिसरले अपहरण तथा शरीर बन्धकको सट्टा कुटपिटको उजुरी ल्याएमा मात्र दर्ता गर्ने भन्दै प्रहरीले आफ्नो जाहेरी नलिएको रावलले गुनासो गर्नुभयो । पीडितले प्रहरीले पीडितलाई मुद्दाको विषय बदल्न र मेलमिलाप गर्न दबाब दिएको बताउनु भयो ।

प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि रावलले मङ्सिर २३ गते राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको थियो । सोही उजुरीको आधारमा आयोगले कीर्तिपुर प्रहरी वृतलाई उनको जाहेरी दर्ता गरी अनुसनधान अघि बढाउन पत्र पठायो । प्रहरीले सो पत्रको जवाफमा वृक्तमा जाहेरी नै नपरेको जवाफ पठाएको पीडित बताउँनुहुन्छ ।

लगतै पीडितले पुनः पुस ८ गते सरकारी वकिलको कार्यालय काठमाडौँमा निवेदन दिनुभएको थियो । निवेदनको जवाफमा सरकारी वकिलको कार्यालयले सक्कल जाहेरी दरखास्त समेतका कागजात पठाइएको पत्र महानगरीय प्रहरी वृत्त किर्तिपुरलाई पठाइए पनि हालसम्म उजुरी दर्ता भएको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले पीडित र पीडक दुवै पक्ष नातेदार भएकोले उनीहरूकै हितको लागि अपहरणको साटो कुटपिटको उजुरी दिन आग्रह गरिएको दावी गर्नुभयो ।

अन्य

भिडियो