सप्तरीमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा अपाङ्गता भएका तीन महिला बलात्कारको घटनाबाट पीडित भएका छन् । यो सहित १२ जना महिला बलात्कार तथा सात जना बलात्कार प्रयास एवम् यौन दुव्र्यवहारको घटनाबाट पीडित भएको जिल्ला प्रहरी कार्यालयको अभिलेखमा छ ।
सन् २०१८ मा बलात्कारको घटनामा सुस्त मनस्थितीका एक सहित १२ महिला तथा छ जना महिला बलात्कार प्रयास एवम् यौन दुव्र्यवहारबाट पीडित भएको इन्सेकले अभिलेख गरेको थियो ।
समग्र महिला नै लैङ्गिक विभेद, बलात्कार तथा यौन दुव्र्यवहारलगायत विभिन्न प्रकारका हिंसाबाट पीडित हुने गरेकोमा अपाङ्गता भएका महिलामाथि बलात्कारको घटना बढेकोमा सरोकारवाला निकायले इन्सेकसँग चिन्ता व्यक्त गरेको छ । अपाङ्गता भएका महिला लैङ्गिक भेदभाव र अपाङ्गताका कारण थप भेदभावको सिकार हुने गरेकोमा चिन्ता प्रकट गर्दै सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेब मण्डलले हिंसा न्यूनीकरणमा जोड दिनु भयो ।
गत वर्षको अवधिमा महिला बलात्कारका १२ घटनामा सुस्त मनस्थिती, बोल्न नसक्ने र राम्रो बोल्न नसक्ने अपाङ्गता भएकी तीन समेत गरि १२ जना पीडित भएको भन्दै उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जस्मा तीन ओटा सामुहिक बलात्कारको घटना छन् ।
प्रतिवाद र प्रतिरक्षा गर्न नसक्ने तथा घटनाबारे स्पष्ट बताउन समस्या हुने भएकाले अपराधिहरूले अपाङ्गता भएका महिलाहरूलाई प्रलोभन, डर, त्रासमा पारेर यौन दुव्र्यवहार तथा बलात्कार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईको भनाई छ ।
अपाङ्गता भएका महिला विरुद्ध हुने गरेका हिंसा, बलात्कारका सबै घटना बहिर आउन नसकेको, आइहाले पनि उजुरी गर्न नमान्ने वा अदालतसम्म पुगेका घटना समेत पीडकको दबाब, परिवारलाई धम्की वा आर्थिक प्रलोभन देखाएर पीडितले बीचमै छाड्ने गरेको बौद्धिक अपाङ्गता अभिभावक संघकी कोषाध्यक्ष राधा अर्यालले बताउनु भयो ।
गत वर्ष भएको बलात्कारको घटनामा पीडितहरूको उमेर १९ देखि ३१ वर्ष उमेरको रहेको छ भने आरोपितहरु १९ देखि ४६ वर्ष उमेर समूहका २० जना छन् । आरोपितमध्ये १० जना पुर्पक्षका लागि थुनामा छन्, आठ जना फरार छन्, एक जनाले सफाई पाएका छन् भने एक जना हालै गिरफ्तार भएका छन् ।
इन्सेकको अभिलेख अनुसार सन् २०१७ को अवधिमा १४ जना र सन् २०१६ को अवधिमा चार जना महिला बलात्कार घटनाबाट पीडित भएका थिए ।
गत वर्ष महिला बलात्कार प्रयास र यौन दुव्र्यवहारका ७ घटना भएको छ । यौन दुव्र्यवहारका घटनामा १९ देखि ४५ वर्षीया महिला पीडित भए भने आरोपितहरू २८ देखि ५९ वर्ष उमेर समूहका सात जना छन् । एकैजना आरोपित बलात्कार प्रयासको दुई र यौन दुव्र्यवहारको एक गरी तीन छुट्टा–छुट्टै घटनामा संलग्न छन् । उनी पुर्पक्षका लागि थुनामा छन् भने चार जना पुर्पक्षका लागि धरौटी राखेर रिहा भएका छन् । दुई जना आरोपित फरार् छन् । सप्तरीमा सन् २०१७ को अवधिमा नौ र सन् २०१६ को अवधिमा ११ महिला पीडित भएका थिए ।
विशेष गरी पीडितले आफूलाई दरिलो गरी उभ्याउन नसक्ने, परिवार–समाजको सहयोग नपाउने, उजुरी गरिसकेपछि पनि अदालती प्रक्रिया लामो, झञ्झटिलो र महँगो हुने हुँदा निरन्तर न्यायका लागि पहल गर्न नसक्ने गरेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताउनु भयो ।