मेलौली नगरपालिकाका अन्तरतग रहेका नौ ओटै वडा कार्यालयमा सचिव नभएपछि यस क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् ।
नगरपालिका अन्तर्गतका सवै वाडा कार्यालयमा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गराउनु पर्ने बाध्यताले गर्दा सेवा प्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘कुनैपनि वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा प्राविधिक सहायक खटाएर जेनतेन काम गरिरहेका छौँ । सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । नागरपालिकाको कार्यालयमा राखिएका एक जना कर्मचरीले सबै वडाको पञ्जिकरणको जिम्मेवारी समाल्नु परेको छ ।’
पञ्जिकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार भएकाले एक जनाले नगरपालिकामै बसेर नौ ओटै वडाको काम गर्नु पर्ने बाध्यता रही आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो ।
वडा तहमा कर्मचारी नहुँदा प्रत्येक सेवाका लागि नगरपालिका धाउनु पर्ने बाध्यता आएको मेलौली नगरपालिका –१ का लक्ष्मण पार्कीले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘हामीले हरेक कामका लागि नगरपालिकाको कार्यालय नै धाउनु पर्ने बाध्यता छ । वडाबाट पाउने सेवाका लागि हामीलाई सकस छ ।’
मेलौलीका स्थानीय केशवसिंह भाटले वडामा सचिव नहुँदा आफुहरूले समस्या झेल्नु गुनसो गर्दै स्थानीय सरकारलाई अधिकार दिएको भए पनि कर्मचारी अभावका कारण आफुहरूले सानो कामका लागि पनि दौडधुप गर्नु परेको बताउँनु भयो ।
उहाँले भन्नु भयो –‘गाउँगाउँमा सिंहदरबार आयो भन्थे । वडामा सचिव छैनन् । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी छैनन् । शिक्षाका कार्यक्रम लथालिङ्ग छन् । कस्तो सङ्घीयता आएको हो ? । ’
स्थानीय तह स्थापना भएदेखि नै नगरपालिकाले सचिवको अभाव झेलिरहेको नगर प्रमुख कृष्णसिंह नायकले बताउनु भयो ।
उहाँले भन्नु भयो –‘हामी जनप्रतिनिधि आएदेखि कर्मचारीको अभाव झेलिरहेका छौँ । कर्मचारी नहुँदा सेवाग्राहीले सोचे अनुसार सेवा पाउन सकेका छैनन् । नगरपालिकाले गर्नु पर्ने काम पनि समयमा गर्न अप्ठ्यारो भएको छ । कर्मचारीकै अभावमा वडा तहका सेवा र नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ ।’