अन्तराजातीय विवाह गरेका कारण सुत्केरी महिलाको विचल्ली भएको छ । १५ दिने सुत्केरी । न राम्रो स्याहार, न मिठो मसिनो खाना । गर्भावस्थामा पनि पुगेन । सुत्केरी हुँदा समेत छैन । मुसिकोट नगरपालिका– ५ की २२ वर्षीया विपना सावत अहिले बिचल्लीमा पर्नुभएको छ । सडकमा काम गर्दागर्दै सुत्केरी व्यथाले च्याप्यो । गत मङ्सिर २३ गते छोरी जन्माउनुभयो । झुप्रे घरमा १५ दिनको सुत्केरी । स्वभावैले यो समयमा राम्रो स्याहार सुसार र खानपान आवश्यक पर्छ । पति कता हुनुहुन्छ टुङ्गो छैन । माइतीमा अरू उपाय भएन । बडिगाड खोलाको चिसो सिरेठोले बिपना थला पर्दै जानुभएको छ । आमाछोरीकै नियमित स्वास्थ्योपचार अनिश्चित भएको छ ।
बिपना सुत्केरी भएपछि स्थानीय शिव सुनारकोमा कोठा खोजेर राखिएको छ । कोठामा पनि केही खानेकुरा नभएकाले छिमेकी दिदी बहिनीले सहयोग गरिरहेका छन् । यो बेलामा चेलीको त्यो अवस्था हेर्न नसकेपछि आफुहरूले सहयोग जुटाएर गुजरा चलाएको इन्द्रेगौडाकी गिता खरालले बताउनुभयो ।
‘सुत्केरी हुँदा सम्पन्न परिवारमा झनै स्याहार गर्ने गरिन्छ तर यो अवस्थामा बिपनाको के ख्याल पुगोस् ।’–खरेलले भन्नुभयो–‘जसोतसो मर्न दिएका छैनौँ ।’
मुसिकोट नगरपालिका–५ का वडाध्यक्ष भागिरथ खरालले आफुले सूचना पाउना साथ वडाको तर्फबाट ५ हजार रुपियाँ सहयोग गरेको बताउनुभयो ।
अन्तर जातीय प्रेम सम्बन्ध राखेकी बिपनाले गत वर्षको फागुनमा मदाने गाउँपालिका–६ का राजु बस्नेतसँंग भागेर विवाह गर्नुभयो । गत जेठसम्म बिपना पतिसँगै हुनुहुन्थ्यो । केही समय थापा भन्न लगाएर घर तथा मावलीमा समेत लगेको बिपनाले सुनाउनुभयो । पछि सदरमुकाम तम्घासदेखि बुटवलका विभिन्न स्थानमा जोडीले नै काम पनि गर्न थाले । विपनाका अनुसार वैशाखमा गर्भ रह्यो । ‘त्यसपछि उहाँ (पति)ले हेला गर्न थाल्नुभयो । जातीय आक्षेप लगाउँदै कुटपिट गर्न थालेपछि ज्यान जोगाउनकै लागि माइतमा आएर मजदुरी गरेर बसेँ ।’
मुसिकोट नगरपालिका–५ आँपचौरको अमलवोटस्थित जङ्गलमा खरे झुपडी र रूखो जमिन सामत परिवारको सम्पती हो । १८ वर्ष अघि बिपनाका बाबु लालबहादुर सामतले घर छाड्नुभयो । त्यतिबेला बिपना तीन र भाइ अर्जुन नौ दिनका हुनुहुन्थ्यो । आमा दुर्पदाले पनि सुत्केरी अवस्थामै दुख भोग्नुभयो । बिपनालाई पनि त्यहि भएको छ । सुत्केरी अवस्थामा आफुलाई पतिले छोडेपनि छोराछोरीको मुख हेरेर मजदुरी गरेर जिविकोपार्जन गरेको दुर्पदाले दुखेसो पोख्नुभयो । ‘एक छाक मिठो नखाएर हुर्काएकी छोरीको पनि बिचल्ली प¥यो ।’–आमाले भन्नुभयो–‘बुढेसकालमा कहाँ न्याय खोज्ने, कसरी गर्जो टार्ने ?’
सुत्केरी बिपनालाई न्याय र सुरक्षाको अपरिहार्यता अहिले रहेको छ । जसका लागि आफुहरू सहयोग गर्न तयार रहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताउनुभयो । उहाँले अहिले तत्काल सुरक्षाको हेरचाह आवश्यक भएकाले त्यसपछि न्यायको पहुँच स्थापित गर्ने आश्वासन दिनुभयो । त्यस्तै मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले अन्तरजातीय विवाह गरेर अलपत्र पार्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउन आफुले पहल गर्ने बताउनुभयो । साथै दलित अधिकारकर्मी गणेश विश्वकर्माले बिपना मात्रै नभएर धेरै अन्तरजातीय विवाह गर्ने जोडीहरूको अवस्था दयनीय रहेको बताउनुभयो । विश्वकर्माले सुत्केरी अवस्थाबाट उम्किए पछि न्यायको पहुँच स्थापित गर्न सबै अधिकारकर्मी र नागरिक समाजलाई आग्रह गर्नुभयो ।