सरकारले सन् २०१७ सम्म देशलाई नै पुर्ण खोपयुक्त बनाई सक्ने लक्ष्य राखेको भए पनि हिमाली गाउँपालिका –१ गुम्बाका दुई वर्ष मुनीका २० जना बालबालिकाहरू खोप सेवाबाट वञ्चित हुँदै आएका छन् ।
गत वर्षकोे कात्तिक महिनामा बिच्छँया स्वास्थ्य चौकीका अहेब नरेन्द्र बुढा एक पटक आएर खोप लगाएको भएपनि त्यसपछि र त्यसअघि बालबालिकाहरूले कुनै पनि प्रकारको खोप नपाएको हिमाली गाउँपालिकाकी स्वयसेविका पासाङ्ग लामाले बताउनु भयो ।
दुई वर्ष मुनिका बच्चाहरूलाई बिसिजी, पेन्टा, पीसीभी, एमआर, जापनिज इन्सेफलाइट र पोलियो खोपलगायत ११ प्रकारका खोप अनिवार्य लगाउनु पर्ने भएता पनि गुम्बाका बालबालिकाहरूले यी खोप पाउन सकेका छैनन् ।
आफ्नो बच्चा जम्मीएको आँठ महिना भइसकेको भए पनि खोप लगाउनका लागि दुई दिन हिडेर जानु पर्ने बाध्यताका कारण बच्चालाई खोप लगाउन नसकिएको स्थानीय डोमा गुरूङले दुखेसो पोख्नु भयो ।
स्थानीय लक्ष्मी कुवँरका पनि तिन जना सन्तान रहेका छन् । उहाँसँग तीन महिनाकी छोरीसमेत छिन् । तर, कुनै पनि बच्चालाई खोप लगाइएको छैन् । बच्चालाई अनिवार्य खोप लगाउनु पर्छ भन्नेसमेत उहाँलाई जानकारी छैन ।
बच्चालाई खोप लगाउनु पर्छ भन्ने जानकारी भएको भए पनि स्वास्थ्य चौकी निकै टाँढा भएकोले अहिलेसम्म बच्चालाई खोप नलगाएको स्थानीय छमु थापाले बताउनु भयो ।
हिमाली गाउँपालिकाका स्वास्थ्य संयोजक धर्म बुढाले गुम्बाका बालबालिका खोपबाट बञ्चित भएको आफुलाई जानकारी नभएको बताउनु भयो ।
उहाँले भन्नु भयो –‘गुम्बाको खोप केन्द्र युना गाँउमा हो । प्रत्येक महिनाको २२ गते खोप सञ्चालन गर्ने गरेका छौ । युनाबाट गुम्बा जान एक दिन पुरै लाग्छ । खोप केन्द्रमा नआएका बालबालिका छुटेका पनि हुन सक्छन् ।’
जिल्ला अस्पताल, बाजुराका कार्यालय प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले बाजुरामा भौगोलिक विकटता भएको भए पनि स्वास्थ्य सेवामा सवैको पहुँचका लागि ध्यान पु¥याउँदै आएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘खोपको इन्डिकेटर हुन्छ । भौगोलिक विकटताले मौसम र समयानुकुल नहँुदा खोप सेवा दिन समस्या हुने गरेको छ । बाजुराका केही स्थानीय तहबाट खोप केन्द्र पुग्न तीन दिनसम्म लाग्ने गरेकोले पनि बालबालिकाहरू खोप सेवाबाट बन्चित भएको हुन सक्छन् । तर, जिल्लाका सबै वडामा स्वास्थ्य चौकी स्थापनका लागि सिफारिस भई स्विकृतसमेत भइसकेकोले आगामी दिनमा समस्या हुदैन ।’
हिमाली गाउँपालिकाका सवै वाडाहरूमा दुई महिनाको एक पटक स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य चेकजाँच र औषधि उपचार गर्ने निर्णय गरेको तर भौगोलिक विकटताले कार्यान्वयनमा समस्या भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘गाउँपालिकाका सवै स्वास्थ्य चौकीमा औषधिको कमी नहुने गरी खरीद गरेको छ । सबै वाडामा स्वास्थ्य चौकी नभएका कारण खोप सेवा दिन समस्या भएको छ । यो समस्या पनि छिट्टै समाधान हुन्छ ।’