INSEC Online

📅 २०८३ जेष्ठ २१

धरौटी रकम बुझाउन नसक्दा प्रतिबन्धित नेकपाका २१ नेता, कार्यकर्ता कारागार चलान

सङ्गठितरूपले राज्य विरूद्धको अपराधमा मुद्दा चलाइएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता कार्यकर्ताहरू धरौटी रकम बुझाउन नसक्दा पुस ७ गते कारागार चलान भएका छन् ।
जिल्ला अदालतले पुस ७ गते जनही १५ हजार रुपिँया  धरौटीमा हिरासत मुक्त गरेपनि धरौटी रकम बुझाउन  नसक्दा कारागार चलान गरिएको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले उक्त पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज ५९ वर्षीय चन्द्रबहादुर चन्द, राप्ती व्यूरो इन्चार्ज ५४ वर्षीय केशबहादुर बाँठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष ३१ वर्षीय दीपराज सेर्पाली, समूहका रोल्पा जिल्ला इञ्चार्ज ३८ वर्षीय सन्तोष सुवेदी, राप्ती व्यूरो सदस्य ६५ वर्षीय रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज ४६ वर्षीय यमलाल कटुवाल, दाङ जिल्ला सेक्रेटरी ३९ वर्षीय प्रदीपबहादुर वली, सल्यान जिल्ला इन्चार्ज ५२ वर्षीय डिल्लीराज शर्मा, पश्चिम रुकुम सेक्रेटरी २८ वर्षीय चन्द्रबहादुर बुढा, विशेष जिल्ला सेक्रेटरी ३३ वर्षीय पुस्तमान घर्ती, विशेष जिल्ला इन्चार्ज ५८ वर्षीय दलबहादुर खत्री, राप्ती व्यूरो कार्यालय सचिव ३९ वर्षीय सविन पोख्रेल, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी ३५ वर्षीय अमित घर्तीमगर, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज ४३ वर्षीय हितप्रसाद रोका, अखिल नेपाल किसान संघ दाङका अध्यक्ष ४३ वर्षीय एकराज चौधरी, दलित मुक्तिमोर्चा दाङका अध्यक्ष ३३ वर्षीय सुरज परियार, युवा संगठनका केन्द्रीय सदस्य ३९ वर्षीय तिलक पुन, राजपुर गापा इन्चार्ज ३७ वर्षीय धनबहादुर बोहरा, पार्टी सदस्यहरु ३१ वर्षीय विष्णुबहादुर रावत, ३४ वर्षीय कुलबहादुर वली र ४९ वर्षीय इन्द्रबहादुर वलीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रहरी हिरासतमा ६६ दिन राखिएका २१ जनालाई नै हिरासतमुक्त गरेपनि धरौटी नबुझाएपछि अदालतले कारागार चलान गरेको हो ।
पार्टीको राप्ती व्यूरो स्तरीय बैठक बसिरहेको बेला दाङको राजपुर गाउपालिका–४ बाट प्रहरीले ०७६ असोज ३० गते चन्दसहित २१ जना नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरि विभिन्न व्यक्तिलाई राज्य विरूद्धको सङ्गठित अपराध सहित छुट्टाछुटटै तीन ओटा मुद्दा चलाएको थियो ।
अदालतको आदेशमा २१ जनाबाट बरामद गरिएको नगद तथा जिन्सी सामग्रीसमेत फिर्ता गरिएको जिल्ला अदालतले जनाएको छ ।

अन्य

भिडियो