नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको सुरक्षाकर्मीको टोली उद्दार गरेको छ ।
शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छातिमा राखेको निश्चित भएपछि प्रहरीले हवाइ फायर गरेपछि सो पार्टीका कार्यकर्ता भागेका र अध्यक्ष शाहीलाई पुस ६ गते साँझ सुरक्षाकर्मीले उद्धार गरको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
पुस ५ गते मध्यरातमा ठाँटीकाँध गाउँपालिका–२ सेरीपाटास्थित शाहीकै घरबाट ५७ वर्षीय अध्यक्ष शाही, उहाँकी ५४ वर्षीया पत्नी इला शाहीलाई र अध्यक्षका ४६ वर्षीय भाइ हस्तबहादुर शाहीलाई प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका थिए ।
अपहरितमध्ये हस्तबहादुरलाई अपहरण गरेको एक घण्टापछि नै भाटीचौरबाट र इला शाहीलाई कालिकोटको भर्ताबाट पुस ६ गते बिहान उनीहरूले मुक्त गरेका थिए । अध्यक्ष शाहीलाई ‘थप कुरा गर्नुछ’ भन्दै छाति भन्ने ठाउँमा पुर्याएका थिए ।
समुदायको पहलमा उद्धारको प्रयास असफल भएपछि दैलेखबाट खटिएका जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर ओली, सशस्त्रका डिएसपी जीवन भट्टराईलगायत कालिकोट र अछामबाट परिचालन गरिएको ६० जना भन्दा बढी सुरक्षाकर्मी सम्मिलित टोलीले उद्धार गर्न सकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पूर्णचन्द्र जोशीले बताउनुभयो ।
अपहरण मुक्त भएपछि अध्यक्ष शाहीलाई आठबीस नगरपालिकाको मुकाम राकमतर्फ ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ । उद्धार गरिएको ठाउँबाट अध्यक्ष शाहीको आफ्नो घर पुग्न ५ घण्टाको मोटरबाटोको यात्रा गर्नुपर्छ ।
अध्यक्ष शाहीले गाउँपालिकाको बजेट दुरुपयोग गरेको र नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाविरूद्ध सुराकी गरेको सो पार्टीले आरोप लगाएको छ ।