INSEC Online

📅 २०८३ जेष्ठ २१

सिटामोल लिन तीन दिन ! जडिबुटीको भरमा उपचार

हिमाली गाउँपालिका–३ गुम्बा गाउबासीलाई सिटामोल लिन तीन दिन लाग्छ । स्वयम्सेविका पासाङ लामाका अनुसार पुरै गाउँ सामान्य स्वास्थ्य सेवाबाट वञ्चित भएको बताएकी छन् ।

गुम्बा गाउँमा २५ परिवारका २ सय परिवार छन् । गुम्बा गाउँका बासिन्दा सिटामोल लिनका लागि तीन दिन लाग्ने भएकाले जडिबुटीको भर परेका छन् ।

देवसैन स्वास्थ्य चौकी पुग्न एक दिन लाग्छ, भने एक दिन उपचार गर्न र एकदिन फर्कन लाग्ने गरेका कारण स्वास्थ्य सेवाबाट बिमुख भएका छन् ।

महिना दिनदेखि ज्वरोले थलिएकी सञ्चुरा गुरुङ जडिबुटीको साहारामा उपचार गरिरहनुभएको छ । सामान्य सिटामोल समेत नपाएर उहाँ रोगसँग जुधिरहनु भएको छ ।

‘स्वास्थ्य चौकी जान एक दिन जान, एक दिन उपचार र एक दिन फर्कन समय लाग्छ, त्यहाँ पुगे पनि औषधि पाउँदैनौँ । अब के गर्नु ?’–घरमै जडिबुटी खाएर बस्नुभएकी सञ्चुराले बताउनुभयो ।

गुम्बा गाँउका बासिन्दा भगवान भरोसमा बाँचेका छन् । बिरामी हुँदा उपचार गर्न जानका लागि उपचार गर्ने ठाँउ छैन ।

बिरामी बोकेर लैजाने कुनै सम्भावना नै छैन । अनि त्यही जडिबुटीको भरमा पर्ने गरेको ममता कुँवरले बताउनुभएको छ ।

‘सरकारले निःशुल्क रूपमा दिने सामान्य औषधि लिनका लागि पनि बास बस्नु पर्ने बाध्यता रहेको छ । स्वास्थ्य चौकी पुगेपनि औषधि पाइँदैन ।’–ममताले भन्नुभयो ।

परिवार नियोजनका साधन लिन स्वास्थ्य चौकी जानु पर्ने भएकाले अहिलेसम्म सो गाँउमा कसैले पनि प्रयोग गरेका छैनन् ।

स्वयम्सेविका पासाङ लामाले भन्नुभयो–‘कण्डम, पिल्स, डिपो लगाउनका लागि धेरै टाढा जानुपर्ने भएकाले यहाँका मानिसले अस्थायी साधन समेत प्रयोग गर्दैनन् । स्थायी बन्ध्याकरणको कुरा त धेरै टाढा रहेको छ ।’

परिवार नियोजनको साधन प्रयोग नगर्ने भएकाले एक दम्पतिले ५ देखि ११ जनासम्म सन्तान जन्माउने गरेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो