बलात्कारको घटनामा गलत रिपोर्ट बनाएको कसुरमा जनकपुर अञ्चल अस्पतालका दुई जना डाक्टरलाई विशेष अदालत काठमाडौँले दोषी ठहर गर्दै गर्दै ६ महिना जेल र २५ हजार रुपियाँ जरिबाना गराउने फैसला गरेको छ ।
बलात्कारको घटनालाई गलत प्रतिवेदन दिएको कसुरमा डा.विजयकुमार सिंह र डा. रम्भा गोइतलाई विशेष अदालत काठमाडौँले पुस २ गते दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले दोषी ठहर गर्नुभएको हो ।
आरोपितद्वयले २०७५ भदौ ८ गते १२ वर्षीय बालिका बलात्कृत भएको भनी इलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पतालमा गराइको नमुना परीक्षणको रिपोर्टमा बलात्कार नभएको प्रतिवेदन दिएको कसुर अदालतले प्रमाणित गरेको हो ।
तर, २०७५ भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गर्दा नमूना परीक्षणमा बलात्कार भएको रिपोर्ट आएको थियो ।
फरकफरक रिपोर्ट आएपछि नेपाल मेडिकल काउन्सिलले छानबिन समिति गठन गर्दै जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा. विजय सिंह र डा. रम्भा गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै व्यावसायिक प्रमाणपत्र निलम्बन गरिसकेको छ ।
पीडित बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जनकनन्दिनी गाउँपालिका–२ का २३ वर्षीय किरण खत्वेलाई धनुषा प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको थियो ।
खत्वेलाई अहिले पुर्पक्षका लागि जेल चलान गरिएको छ । मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।