हुम्ला जिल्लामा मङ्सिर २७ गतेबाट सञ्चालन भएको वार्षिक परीक्षामा एकदेखि १० सम्मका विद्यार्थीहरू आगोको सहायता लिएर परीक्षा दिन बाध्य भएका छन् ।
यो वर्षमा धेरै अगाडि भारी हिमपात भएको र धेरै पछाडि विद्यालयले परीक्षा लिएको हुँदा हुम्लाका विद्यार्थीहरू चिसो मौसाममा परीक्षा दिन नसक्ने अवस्थामा छन् ।
यो वर्षको दोस्रोपटक मङ्सिर २६ गतेदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् ।
सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा २७ गतेदेखि सञ्चालन भएको वार्षिक परीक्षामा परीक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठा भित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता बनेको हो ।
परीक्षाको पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले दिएका छन् ।
कक्षा १ मा २५ विद्यार्थी रहेका हुन् भने कक्षा २ मा १२ विद्यार्थीले आगोको नजिक बसेर परीक्षा दिएका हुन् ।
बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातकै बिच परीक्षमा सहभागी विद्यार्थीका लागि अन्य वैकल्पिक उपाय नहुँदा आगो बालेर पालैपालो आगो तपाउँदै लेख्न लगाउने गरेको बताउनु भयो ।
स्थानीय तह स्तरीय भएको कारणले सिमकोट गाउँपालिकाले वडा नं १ देखि ८ सम्म रहेका सबै विद्यालयमा २७ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरे अनुसार परीक्षा एकसाथ सञ्चालन गरिएको शिक्षिका रावतको भनाइ छ ।
लेख्न नसकेर कक्षा १ र २ का विद्यार्थी रुन थाले पनि कक्षाकोठा भित्रै आगो बालेर समूह–समूहमा राखी आगो तपाउँदै लेख्न लगाउने गरेको शिक्षिका रावतले बताउनु भयो ।
वार्षिक परीक्षामा हिमपातले लेख्न कठिनाइ भएको बालमन्दिर माविकी विद्यार्थी ममता भण्डारीले बताउनु भयो ।
यस्तै सदरमुकाम सिमकोटमा रहेका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर मावि, भीमसेन आधारभूत विद्यालय, कालाशिल्ता प्राविमा परीक्षा दिने विद्यार्थीले चिसोले गर्दा वार्षिक परीक्षा दिन समस्या बनाएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले बताउनु भयो ।
कक्षा ९ को वार्षिक परीक्षा दिइरहेका सन्दिप जेठाराका अनुसार बिहीबारदेखि हिमपात हुँदा आजदेखि सञ्चालन भएको वार्षिक परीक्षामा चिसोले लेख्न कठिनाइ र लेख्दालेख्दै हातका औँला बाउडिने गरेको बताउनुभयो ।
हिमपातले चिसो बढ्ने भएको कारण आफूहरूले हातेपञ्जा, बाक्लो कपडा लगाएर परीक्षा दिन कक्षाकोठामा गए पनि लेख्न नै समस्या बनाएको उनले जानकारी गराउनु भयो ।
‘यस्ता समस्याले गर्दा हामी यो वर्ष धेरैजसो विद्यार्थीहरू पास हुन नसक्ने भएको देखिन्छ ।’–उहाँले बताउनु भयो ।
यस्तै वडा नं ८ मा रहेका सबै विद्यालयले विद्यालय र विद्यार्थी टाढा भएका कारण आवतजावतमा समस्या देखिएकाले वार्षिक परीक्षा समेत स्थगन गरेको छ ।
बिहीबारबाट निरन्तर हिमपात हुम्ला घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थी परीक्षामा सहभागी भएको वडा नं ३ मा रहेको रलिङ माविका शिक्षक सूर्यमणी बोहराले बताउनु भयो ।
उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण सबै विद्यालयहरू वार्षिक परीक्षा नदिएरै बन्द भइसकेका छन् ।
भारि हिमपातका कारण विद्यालयमा जानलाई समेत गार्हो भएपछि विद्यालयनै बन्द गरिनु परेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाको भनाइ छ । उहाँका अनुसार हिमपात नरोकिँदासम्म परीक्षा हुन नसक्ने भएको छ ।



