चौतारा सागाचोकगढी–७ स्थित सानुसिरूवारी स्वास्थ्य चौकीका प्रमुख तथा अहेव केशव नापितलाई सोहि वडाको सचिवमा सरूवा गरेपछि सो स्वास्थ्य चौकीबाट हुने सेवा ग्राहीलाई गरिने स्वास्थ्यसेवा प्रवाहमा अवरोध पुगेकोे छ ।
अहेब प्रमुख सहित पाँच जना स्वास्थ्य कर्मीको दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा एकजना अनमी र एकजना खोप कार्यकर्ता मात्र बाँकी रहेका छन् ।
मङ्सिर १५ गतेदेखि सो स्वास्थ्य चौकीका अहेब केशव नापितलाई वडा सचिवको जिम्मेवारी दिएपछि स्वास्थ्य सेवा प्रभावित भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष केदार दुलालले बताउनुभयो ।
उनका अनुसार बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई प्रशासनिक काममा लगाएर नगरपालिकाले स्वास्थ्य सेवालाई बेवास्ता गरेको बताए ।
दम र खोकीको रोगको उपचार गर्न आएकी ७३ वर्षीया रत्नमाया तामाङ अहेब नभएपछि उपचार नगराएर भोलि आउनुपर्ला भन्दै मङ्सिर २५ गते आफू घर फर्कनु परेको बताउनुभयो ।
आफूले स्वास्थ्य चौकीमा रहेर बिरामीहरूको उपचारमा संलग्न रहँदारहँदै पनि अप्रत्याशित वडा सचिवको काम गर्न पठाएकोमा आफू आश्चर्यचकित भएको स्वास्थ्यकर्मी केशव नापितले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजनको काम पुरा नभएको, सो वडामा स्थायी कर्मचारीको अभाव भएको र पञ्जिकाधिकारीको काम स्थायी कर्मचारीले मात्र गर्नुपर्ने भएकाले वडा सचिवको काम पनि सोही वडाको स्वास्थ्य चौकीका इञ्चार्जलाई जिम्मेवारी दिनुपरेको चौतारा सागाचोकगढी नगर पालिकाका स्वास्थ्य प्रमुख शिव पुरीले बताउनुभयो ।