दुर्गम जिल्लामा रहेका गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमै सुत्केरी गराउने उद्धेश्यले प्रसूति केन्द्र स्थापना गरिएपनि आवश्यक पुर्वाधारको व्यवस्था नहुँदा समस्या भएको छ ।
त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटबगरस्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसूति केन्द्रमा बत्तीको व्यवस्था नहुँदा मोबाइलको उज्यालोको भरमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको कार्यरत् स्वास्थकर्मीहरूको भनाइ छ ।
यसवर्ष साउन यता मात्रै १६ जना सुत्केरीले प्रसूति सेवा लिएको केन्द्रमा मोबाइलको उज्यालोकै भरमा सुत्केरी गराइएको स्वास्थ्य चौकीका इञ्चार्ज तुलबहादुर श्रेष्ठले बताउनु भयो ।
सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशील कामको लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भएपनि स्वास्थचौकीमा बत्तिकोसमेत व्यवस्था छैन ।
स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले राम्रो हुने ठानेर स्वास्थ्यचौकीमा सुत्केरी हुन गएपनि उज्यालोको व्यवस्था बिना नै सुत्केरी हुनु परेको त्रिपुरासुन्दरी नपा–२ रूमकी नरचन्द्रा थापाले बताउनु भयो ।
एक साता अघिमात्रै स्वास्थ्यकर्मीको मोबाइलको उज्यालोको भरमा सुत्केरी हुनु भएकी थापाको मृत बच्चा जन्मिएको थियो ।
स्वास्थचौकीमा विद्युतको उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थचौकीले सेवा दिइरहेको स्थानीयको भनाइ छ ।
बिरामी र आफन्तले स्वास्थचौकीमा भरपर्दो बिजुली तथा तालिमप्राप्त स्वास्थकर्मीको समेत माग गर्ने गरेका छन् ।
चिसोमा सुत्केरीका लागि हिटर लगायतका उपकरण प्रयोग गर्नुपर्ने भएपनि बिजुली नहुँदा समस्या भएको इञ्चार्ज श्रेष्ठले बताउनु भयो ।
दुई वर्षको ग्यारेन्टी दिएको सोलार पनि जडानको केही समय लगत्तै बिग्रिएपछि उज्यालोका लागि अन्य वैकल्पिक उपाय समेत नभएको इञ्चार्ज श्रेष्ठको भनाइ छ ।
यस्तै जिल्लामा रहेका स्वास्थ चौकीहरूमा दक्ष अनमी नहुँदा करारका कर्मचारीहरूले नै सेवा प्रदान गर्ने गरेको स्थानीयहरूको भनाइ छ ।
प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ्य चौकीमा एकजना तालिम प्राप्त अनमी अनिवार्य हुनुपर्ने भएपनि स्वास्थ्य चौकीहरूमा सुत्केरी तालिम नलिएका अनमीले सुत्केरी सेवा उपलब्ध गराउँदै आएका छन् ।
नगरपालिकाले करारमा भएपनि तालिम प्राप्त अनमी भर्ना गर्नुपर्ने र सो को लागि माग गरिएको स्वास्थ्य चौकीका इञ्चार्ज श्रेष्ठले बताउनु भयो ।
दुई जना स्थायी अनमी दरबन्दी रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा हाल एक जना प्रसूति तालिम नलिएकी करार अनमी र एक जना मासिका कार्यरत छन् ।
समायोजनपछि स्वास्थकेन्द्रमा करारमा अनमी आएपनि तालिमप्राप्त र स्थायी अनमी अझै नआएको स्वास्थ्य चौकीले जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ र त्रिपुराकोट सहितका पाँच ओटा स्वास्थ्य चौकीमध्ये चारओटा स्वास्थ्य चौकीमा रहेका प्रसूति केन्द्र सञ्चालनमा रहेका छन् ।
फुल्चिङ्ग स्वास्थ्य चौकीमा भने प्रसूति केन्द्र सञ्चालनको लागि आवश्यक उपकरण सहितका सामग्रीहरू पठाइएपनि सञ्चालनमा नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
