स्थानीय तहको सिमाङ्कनका विषयमा असन्तुष्ट पक्षले दैलेखको कालभैरव, गमौडी र मालिकामा बन्द गरेका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । मङ्सिर ५ गतेदेखि बन्द गरिएका तीन वटै गाविसका ३७ वटा विद्यालय इन्सेकका जिल्ला प्रतिनिधिको पहलमा खुला गरी सञ्चालनमा ल्याइएको हो ।
जिल्ला शिक्षा कार्यालयको आग्रहमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले समुदायस्तरमै पुगी आन्दोलनरत पक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावकसँग अन्तरक्रियापछि आन्दोलनरत ज्वालामालिका गाउँपालिका गठन सङ्घर्ष समितिको निर्णयबाट मङ्सिर १४ गतेदेखि विद्यालय खुलेका हुन् ।
विद्यालय शान्ति क्षेत्र स्वीकार गर्दै सबै दल र सरोकारवालाले कुनै पनि बन्द, हडताल वा जुनसुकै विरोधका कार्यक्रमका बेला कुनै पनि हालतमा विद्यालय बन्द नगर्ने भनी डेढ वर्षअघि घोषणा गरेको नीतिगत विषयलाई प्रष्ट्याएपछि सङ्घर्ष समितिले आन्दोलन जति लम्बिए पनि विद्यालय खुला राख्ने प्रतिबद्धता जनाएको छ ।
विद्यालय खुलेपछि बन्दका कारण स्थगित अर्धवार्षिक परीक्षा पनि आजैदेखि सुचारु भएको ज्वाला मावि भुवाकाहँका प्रधानाध्यापक बखत कटुवालले इन्सेक जिल्ला प्रतिनिधिलाई बताए । बन्द लम्बिए पनि विद्यालय खुला भइरहने निश्चित भएकोले मङ्सिर ५ गतेपछि सबै विद्यालयले रोकिएको परीक्षा निरन्तरता दिएको उनले बताए ।
कालभैरव, गौरी, मालिकाको अलवा गमौडी समेत ४ वटा गाविस गाभेर ज्वालामालिका गाउँपालिका गठन हुनुपर्ने माग राख्दै आन्दोलनरत पक्षले मङ्सिर ७ गते दैलेख बन्द गरेपछि स्थानीय प्रशासनसँग एक साता आन्दोलन स्थगित गरेकोमा सहमति कार्यान्वयनका लागि पहल नभएको भन्दै आजदेखि अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका छन् ।